काठमाडौं । ताप्लेजुङमा आउँदो मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनको सरगर्मी बढ्दै गएको छ । जिल्लामा रिक्त रहेको एक मात्र सिरिजङ्घा गाउँपालिका –३ सिकैँचामा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको र सो निर्वाचनका सरगर्मी बढ्दै गएको हो ।
सिकैँचामा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुने निश्चित भएसँगै यतिबेला ठूला दल नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायतका दलले आफ्नो पक्षमा माहोल बनाउन गृहकार्यमा जुटेका छन् । दलहरु आफ्नो पक्षमा माहोल बनाउने र उम्मेदवारको टुङ्गो लगाउने अन्तिम कसरतमा रहेका छन् ।
सम्बन्धित वडाको वस्तुस्थितिअनुसार उम्मेदवार छनोट गर्ने तयारी गरिरहेको नेपाली काँग्रेसले जनाएको छ । शनिबार काँग्रेसले जिल्ला सभापति गजेन्द्र तुम्याहाङसहितका पदाधिकारीको टोली सिकैँचा पुगेर उपनिर्वाचन लक्षित कार्यक्रम गरेको छ ।
वडाभित्रको तत्कालको अवस्थाबारे जानकारी लिन र आफ्नो पार्टीतिर चुनावी माहोल बनाउनलाई पदाधिकारीसहितको टोली सिकैँचामा पुगेको जिल्ला सभापति तुम्याहाङले जानकारी दिए ।
यस्तै, नेकपा ९एमाले० का जिल्ला सचिव सन्तोष चाम्लिङले पनि पार्टीले उपनिर्वाचनको तयारीलाई तीब्र पारेको बताए । एमालेको पक्षमा माहोल रहेको र सोहीअनुसार निर्वाचत तयारीलाई अगाडि बढाइरहेको सचिव चाम्लिङको भनाइ छ ।
त्यस्तै, माओवादी केन्द्रले पनि आन्तरिक रुपमा चुनावको तयारी गरिरहेको केन्द्रीय सदस्य तथा ताप्लेजुङ जिल्ला इन्चार्ज खेलप्रसाद बुढाक्षेत्रीले जानकारी दिए ।
सकेसम्म ठुला दललाई पराजित गर्नेगरी तयारीमा जुट्दै आएको बुढाक्षेत्रीले बताए । दलहरुले वडामा पुगेर कार्यकर्ता तथा मतदातासँग भेटघाट, परापर्श गर्नेजस्ता गतिविधि सुरु गरेको छन् ।
यसअघि २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार भई दिलप्रसाद बोखिम निर्वाचित भएका थियो । बोखिमले वडाध्यक्ष पदबाट राजिनामा दिएपछि सिकैँचामा उपनिर्वाचन हुन लागेको हो ।