युक्रेनी भू-भागमा रूसको आक्रमण तीव्र, दुई दिनमा २५ जनाको मृत्यु

जनता संवाददाता
२०८१ फाल्गुन २५ गते, आईतवार

काठमाडौँ । अमेरिकाले युक्रेनलाई दबाब दिन भनेर विभिन्न सहायता रोकेपछि रूसले भने युक्रेनमाथि आक्रमणलाई तीव्रता दिएको छ।

बिहीबारदेखि रूसले युक्रेनका विभिन्न भूभागहरुमा मिसाइल, रकेट, र ड्रोनले आक्रमण गरेको बिबिसीले जनाएको छ। अमेरिकाले अहिले युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोकेको छ। गुप्तचर सूचनाहरुको आदान प्रदान पनि रोकेको छ।

हालै मात्र भू-उपग्रहले खिचेको तस्बिर युक्रेनसँग साझा गर्न पनि रोक लगाएको छ। यी सबै विषयमा प्रतिबन्ध लगाएका ट्रम्पले कारणमा शान्तिका लागि युक्रेनलाई मनाउनका लागि गरेको भनेका छ ।

यद्यपि युक्रेनलाई सहायता रोकेपछि रूस थप हौसिएर युक्रेनमाथि आक्रमण गरिरहेको छ।

शुक्रबार रातभरि युक्रेनका सहर र वस्तीहरूमा रूसी मिसाइल, ड्रोन र रकेट आक्रमण भएको थियो। जसमा परी ५ बालबालिकासहित १४ जनाको मृत्यु भएको थियो भने ३७ जना घाइते भएका थिए।

बिबिसीका अनुसार शनिबार राति युक्रेनका दोनेत्स्क र खार्किभ क्षेत्रमा आक्रमण गर्दा त्यहाँ ११ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।

रूसी आक्रमणबाट दुई दिनमा २५ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ। शुक्रबार रूसले युक्रेनको ऊर्जा र ग्यास भण्डारमा मिसाइल दागेको थियो। अमेरिकाले यसलाई युक्रेनलाई दिएको सैन्य सहायता रोकेपछिको पहिलो ठूलो आक्रमण भनिएको छ।

यद्यपि राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसलाई पनि छिट्टै शान्ति वार्तामा आउन चेतावनी दिएका थिए।

साउदी अरबमा भएको वार्ताको सुरूवातका बाबजुद पनि रूसले युक्रेनमाथि आक्रमण गरिरहेको भन्दै ट्रम्पले रुसलाई शान्ति वार्तामा बिलम्ब नगर्न चेतावनी दिँदै प्रतिबन्ध अझै कडा बनाउने धम्की दिएका थिए।

उनले ओभल अफिसमा पत्रकारहरूसँगको कुराकानीमा ‘डिल’ गर्न युक्रेनभन्दा रूस सजिलो रहेको पनि बताए।

‘रूससँग सौहार्दपूर्ण ढंगले वार्ता अघि बढेको छ। डिल गर्न युक्रेनको तुलनामा रूस निकै सजिलो छ,’ ट्रम्पले ह्वाइट हाउसमा भनेका थिए।एजेन्सी

प्रकाशित मिति : २०८१ फाल्गुन २५ गते, आईतवार


Scroll to Top

Janata Media