खगेन्द्र कार्की, हुम्लाको सर्केगाड गाउँपालिका वडा नं १ जैरमा बुबा विष्णु बहादुर कार्की र आमा धर्मकला कार्कीको कोखबाट वि.स.२०३८ सालमा जन्मिएका हुन् । उनी अहिले ४३ वर्षका भए । मध्यम परिवारमा जन्मिएकाले कार्कीले आफ्नो जीवनमा धेरै सङघर्ष गर्नुपर्यो । तर उनले अधिकतम् सङघर्ष गरेर नै काठमाडौँ लगायत नेपालका सहरहरुमा घर घडेरी जोडिसकेका छन् । अहिले उनी परिवारसहित काठमाडौँको तारकेश्वर नगरपालिका वडा नं ७ स्थित खुलालटार मनमैजुमा बस्छन् । २०७४ सालको स्थानीय चुनावबाट वडा सदस्यमा निर्वाचित भई जिल्ला समन्वय समिति हुम्लाको उप प्रमुख भईसकेका उनी नेकपा एमालेको स्थानीय विकास विभागको केन्द्रिय सदस्य समेत छन् । जनता मिडियाले तयार पारेको उनै कार्कीको व्यक्तिगत प्रोफाइल तल प्रस्तुत छ ।
परिचयः
हुम्लाको सर्केगाड गाउँपालिका वडा नं १ जैरको सामान्य गाउँमा मध्यम परिवारमा जन्मिएका खगेन्द्र कार्कीको जन्म वि.स.२०३८ सालमा भएको हो । एकदमै विकट ठाउँमा उनको बुबा ग्रामिण स्वास्थ्य कार्यकर्ता भएको हुनाले पनि खासै कठिनाई भोग्नु परेन । मध्यम परिवारमा जन्मिएका उनको सानैदेखि सामाजिक काममा रुचि थियो । त्यो रुचिलाई नै पहिल्याउँदै अहिले उनी नेकपा एमालेको स्थानीय विकास विभागको केन्द्रिय सदस्य र ग्रामिण सामुदायिक कृषि सहकारीको सञ्चालक एवं कोषाध्यक्ष समेत छन् । यसका अलवा उनका सुन तथा चादी जलप गरिएका नक्कली गरगहनाहरुको उत्पादन तथा विक्री वितरणका लागि होलसेल र खुद्रा काउन्टरहरु सँचालनमा रहेका छन् । साथै हाल मात्र सुन तथा चाँदीको कारोबार गर्ने गरि कम्पनी शुरु भएको छ ।
इतिहासः
अन्न उत्पादनका हिसाबले पनि जैरमा राम्रै हुने भएकाले छाक टार्ने कुरामा खासै समस्या थिएन । उनका बुबाको जागिर नै भएकाले आर्थिक रुपमा पनि अभाव खासै भएन । अझ त उनको परिवार गाउँकै राम्रै परिवार भएपनि समग्रमै मध्यम वर्गिय परिवार थियो । उनलाई कहिल्यैपनि अभावको महशुस भएन । बुबाले कमाएको मान एवं प्रतिष्ठा जोगाउने र अझै बलियो बनाउने उनको लागि चूनौतीपूर्ण थियो । त्यसका अलवा उनले विभिन्न समयमा चूनौती पनि मोलेका छन् ।
बाल्यकालः
बाल्यकालदेखि चन्चले र जिज्ञासु स्वभावका उनी एकदमै चलाख थिए । उनको घर जैरबाट सर्केगाड पुग्न पैदल हिँडेर एक दिन लाग्थ्यो । उनी पढ्नका लागि विद्यालयकै छात्रावासमा बस्थे । एक हप्ताका लागि खानेकुरा रासन जैरबाटै लिएर जाने गरेको सम्झन्छन् । माध्यामिक शिक्षा अध्ययन गर्ने क्रममा सर्केगाडमै रहेको हिमज्योति माध्यामिक विद्यालयमा पढ्दै माछा मार्दै गरेको घटना स्मरण गर्छन् ।
शिक्षाः
सर्केगाड गाउँपालिका वडा नं १ जैरमै रहेको सरस्वति निम्न माध्यामिक विद्यालयमा १ कक्षादेखि ७ कक्षासम्म र सर्केगाडमै रहेको हिमज्योति माध्यामिक विद्यालयबाट एसएलसी उतिर्ण गरे । आईकम र बिबिएस काठमाडौँमा रहेको सरस्वति क्याम्पसबाट र एमबिएस नेपालगन्जमा रहेको महेन्द्र बहुमुखी क्याम्पसबाट उतिर्ण गरे । अहिले उनी राजनितिक, सामाजिक र व्यवसायिक रुपमा सक्रिय छन् ।
सोच र योजनाः
उनी सर्वसाधारण जनताको सेवाको लागि राजनिती गर्न चाहन्छन् । अहिलेको परिप्रेक्षमा भईरहेको राजनितिको नाममा भ्रष्टाचार, कमिशन र बेईमानी भएकोप्रति एकदमै दुःखित छन् । राजनितिका नाममा भईरहेको व्यापारले समाजलाई धमिल्याएको उनको बुझाई छ । उनी आफै पनि राजनितिक रुपमा नेकपा एमालेमा सक्रिय छन् । आफ्नै पार्टीभित्र पनि यस्तो प्रवृत्ति देखेका उनले अबको राजनिति विशुद्ध जनताको सेवाका लागि समर्पित गर्ने सोचका साथ योजना बनाएका छन् । यहि अनुरुप राजनितिमा सक्रिय भएको उनी बताउँछन् । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज गोरख बहादुर बोगटीलाई राजनितिका आर्दश मान्छन् ।
सफलताका कथाहरुः
सानै उमेरदेखि व्यवसायमा लागेका उनले व्यक्तिगत रुपमा थुप्रै सफलता हासिल गरेका छन् । २०६२।६३ सालमा ३०,००० हजारबाट नेपालगन्जमा शुरु भएको कस्मेटिक पसलबाट व्यवसाय सुरु गरेका उनले व्यवसायबाट नै अहिले काठमाडौँमा एउटा घर, नेपागन्जमा दुई ओटा घर, सुर्खेत र कोहलपुरमा घडेरी आफ्नो नाममा जोडिसकेका छन् । उनले राजनितिक रुपमा पनि दुर दराजको गाउँ सर्केगाडको जैरमा जन्मिएर वडा सदस्यमा निर्वाचित भएर जिल्ला समन्वय समिति हुम्लाको उप प्रमुखको रुपमा पनि भूमिका निर्वाह गरिसकेका छन् । यो उनको राजकिय सफलता हो ।
जीवनका चुनौतीः
व्यवसाय र राजनिति सँगसँगै अगाडी लिँदैगर्दा उनले जीवनमा थुप्रै चूनौतीहरु मोल्नु परेको छ । गाउँबाट काठमाडौँ उनका बुबाले पढ्न पठाउँदा हुम्लाको सदरमुकाम सिमकोटमा रहेको बिक्रि गरेर उनलाई भाईलाई पढाउनु भनेर एक लाख रुपैँया दिएका थिए । उनले काठमाडौँ आएर मुद्यति खातामा हाले तर उनी राजनितिक रुपमा जोडिएका हुनाले एक जना राजनितिज्ञलाई आवश्यक परेकाले उनलाई सहयोग गरेको र पछि भाईलाई भनेर बाबाले दिएको पैसा नभएपछि काठमाडौँ बस्न साह्रै गाह्रो भएको उनी सम्झन्छन् । यो समयलाई उनी चूनौतीका रुपमा लिन्छन् । आफ्नो जिन्दगीलाई फर्किएर हेर्दा खासै चूनौतीपूर्ण नमान्ने कार्कीले राजनितिक रुपमा आदर्श मान्ने एमाले नेता गोरख बहादुर बोगटीको जस्तै जिन्दगी जिउन सक्नु ठुलै चूनौती मान्छन् । बोगटीको जस्तो व्यक्तित्व र नैतिकता नेपालको राजनितिमा राज गरिरहेका कमै राजनितिज्ञमा भएको उनी दाबी गर्छन् ।
लेख रचना:
उनी लेख तथा रचनामा पनि चासो राख्ने व्यक्ति हुन् । विद्यालय तहमा लेखहरु रचना गरेपनि कुनै पनि माध्यममा प्रकाशन भएन । तर त्यस्तै क्रममा सरस्वति क्याम्पसमा अध्ययन गर्दै गर्दा मधुपर्क पत्रिकामा हुम्लाको जर्जर स्वास्थ्य स्थिति शिर्षकमा लेख छापिएको उनी बताउँछन् । त्यति बेला पहिलोपटक आफ्नो लेख छापिएकोमा खुसि त छँदै थिए । त्यो भन्दापनि लेख छापिएको भोलिपल्ट कार्यालयमै बोलाएर लेखको पैसा लिनु भनेर सुनेपछि खुसिको त सिमा नै रहेन । अचम्ममा परे । योे उनको जिन्दगीको स्मरणिय क्षण हो ।
राजनैतिक इतिहास तथा उपलब्धीः
सानैदेखि विद्यार्थी राजनितीबाट सुरु भएको राजनितिक यात्रा अहिले पनि अनवरत रुपमा चलिरहेकै छ । गाउँ, जिल्ला, प्रदेश हुँदै केन्द्रिय राजनितिमा पुगेका उनले राजनितिक रुपमा पनि उपलब्धि हासिल गरेका छन् । २०७४ सालको स्थानीय निर्वाचनमा सर्केगाड गाउँपालिका वडा नं १ बाट नेकपा एमालेका तर्फबाट वडा सदस्य उम्मेद्वार बनेका उनी विजय लगत्तै जिल्ला समन्वय समिति, हुम्लाका लागि पनि चुनाव लडे । त्यसलगत्तै जिल्ला समन्वय समिति, हुम्लाको उप प्रमुखको रुपमा निर्वाचित भए । यो उनको राजनितिकसँगै राजकिय उपलब्धि हो । उनी अहिले नेकपा एमालेको स्थानीय विकास विभागको केन्द्रिय सदस्यका रुपमा छन् ।
भविष्यका सपना र लक्ष्यः
अहिलेसम्म व्यवसायिक रुपमा होस्, राजनितिक रुपमा होस् या सामाजिक रुपमा होस् । असल रुपमा काम गरेको दाबी गर्ने उनको इच्छा भनेकै अझै पनि असल भएर जिन्दगी जिउन पाउँ र असल भएरै मर्ने उनको चाहना छ । राजनितिलाई पेसाका रुपमा नभई सेवाका रुपमा आफुले लिने र त्यहिअनुसार ग्रहण गर्ने प्रण छ । हुम्ला लगायत सम्पूर्ण सर्वसाधारण विपन्न नागरिकलाई व्यक्तिगत रुपमै भएपनि आफुले सकेजति सहयोग गर्ने पनि उनको ठुलो इच्छा छ । राजनितीमा भएको फोहोरलाई सफा बनाई राजनिति कायम गर्ने उनको लक्ष्य छ । व्यक्तिगत र व्यवसायिक रुपमा स्वच्छ ढंगले ठुलो सफलता हासिल गरेका उनको सोच राजनिति पनि यसै अनुरुप सुध्रीएको हेर्ने चाहना राख्छन् ।
सुझावः
जिन्दगी हो, समस्या आउँछन् । अप्ठ्यारा आउँछन् । सङ्घर्ष त सबैले गर्नैपर्छ । मात्र कुरा यत्ति हो । काम गर्दै जाँदा कत्तिको असल ढंगले गरियो ? यो कुराले महत्व राख्छ । त्यसकारण, उनी जीवनमा जतिसुकै अप्ठ्यारा आएपनि सहजै ढंगले असल रुपमा काम गर्न सुझाव दिन्छन् ।







