गोकर्णेश्वरमा एकै परिवारका तीनजना मृत फेला

जनता संवाददाता
२०८१ कार्तिक ३० गते, शुक्रबार

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वरस्थित आफ्नै घरभित्र एकैपरिवारका तीनजना मृत भेटिएका छन् । गोकर्णेश्वर नगरपालिका–३ कुमारी गाम्छा बस्ने कान्छा नगरकोटीकी श्रीमती, छोरी र छोरा घरको कोठाभित्र मृत भेटिएका हुन् ।

कान्छा नगरकोटीकी श्रीमती सीता दङ्गाल, १५ वर्षीया छोरी अंशु मोक्तान र दुईमहिने छोरा आफ्नै कोठाभित्र मृत भेटिएका जिल्ला प्रहरी परिसर काठमाडौँ प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

कान्छा नगरकोटीले यही कात्तिक १६ गतेदेखि हराइरहेको भन्दै आज दिउँसो प्रहरीवृत्त बौद्धमा खोजतलासका लागि निवेदन दिएका थिए । सोही आधारमा खोजतलासमा खटिएको प्रहरी टोलीले अपराह्न घरको कोठाभित्रै उनीहरु मृत अवस्थामा फेला परेको प्रहरी उपरीक्षक अधिकारीले उल्लेख गरे ।

प्रहरीवृत्त बौद्ध र प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ कार्तिक ३० गते, शुक्रबार


Scroll to Top

Janata Media