लामामाथि आक्रमण गरेको अभियोगमा थप एक पक्राउ

जनता संवाददाता
२०८१ मंसिर २ गते, आईतवार

काठमाडौँ । प्रहरीले काठमाडौँको लाजिम्पाटस्थित पानी पोखरीमा घरजग्गा व्यवसायी नुवाकोटको ककनी गाउँपालिका–६ घर भई टोखा नगरपालिका–३ ग्राण्डी बस्ने ३५ वर्षीय विक्रम लामामाथि आक्रमण गरेको अभियोगमा थप एक जनालाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा गोरखाको फुजेल घर भएका निश्चल सुनार रहेका र निजलाई जिल्ला प्रहरी कार्यालय झापासँगको समन्वयमा आज पक्राउ गरी काठमाडौँ ल्याइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, “गत कात्तिक ११ गते घरजग्गा व्यवसायी लामामाथि आक्रमण गरेको आरोपमा निजलाई झापाबाट पक्राउ गरी आज काठमाडौँ ल्याएका छौँ ।” लामालाई आक्रमण गरेको आरोपमा प्रहरीले यसअघि शैलेन्द्र तामाङ उर्फ मार्सल पक्राउ परेका र मार्सललाई प्रहरीले अभद्र व्यवहारमा मुद्दा चलाएको थियो । अदालतको आदेशले मार्सल थुनामा गएको प्रहरीले जनाएको छ ।

लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा विक्रमलाई गत कात्तिक ११ गते चार जनाको समूह मिलेर रड प्रहार गरेर निर्घात कुटपिट गरेको सिसिटिभी फुटेजमा देखिएको प्रवक्ता एवं प्रहरी उपरीक्षक अधिकारीले बताए ।

प्रकाशित मिति : २०८१ मंसिर २ गते, आईतवार


Scroll to Top

Janata Media