आइतबार तीन घण्टा खुल्यो धरहरा, दुई लाख बढी राजस्व उठ्यो

जनता संवाददाता
२०८१ मंसिर ९ गते, आईतवार

काठमाडौँ । सःशुल्क धरहरा खुलेको पहिलो दिन दुई लाख २० हजार ६५० रुपियाँ राजस्व उठेको छ ।

सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका आयोजना निर्देशक प्रकाश अर्यालका अनुसार आइतबार मध्यान्ह १२ः३० बजेदेखि अपरान्ह ४ बजेसम्म धरहरा सर्वसाधारणका खुला गरिएको थियो ।

उनका अनुसार आइतबार जम्मा छ सय ६३ जनाले धरहरा चढेका छन्।

उनले भने, “आज जम्मा छ सय ६३ जना धरहरा चढे। त्यसबाट एक लाख २० हजार ६५० रुपियाँ राजस्व उठेको छ। साढे १२ देखि दिउँसो ४ बजेसम्म खुलेको हो। भोलिबाट बिहान १० बजेदेखि खुल्छ।”

उनका अनुसार दश वर्षमुनिका बालबालिकालाई पुरै छुट गरिएको छ। ज्येष्ठ नागरिक, विद्यार्थी, अपाङ्ग, अशक्तलाई ५० प्रतिशत छुट गरिएको छ। आज पार्किङको शुल्क नलिइएको उहाँले जानकारी दिए ।

उनले भने, “धेरैको चाहिँ धरहरा चढ्न पाए हुन्थ्यो भन्ने देखिन्छ। यो पब्लिकको एक्स्पेक्टेसन मिट गर्नको लागि, सबै हिसाबले हामीले चुस्त व्यवस्थापन गर्न चाहिँ सकेको छैन। पैसा नै तिरेर गएपछि अझ राम्रो सर्भिसको अपेक्षा हुन्छ।”

केही समयअघि बिजुलीको ट्रान्सफर्मरका कारण धरहराको लिफ्टमा समस्या आएको थियो। उनले अहिले लिफ्टमा कुनै समस्या नभएको जानकारी दिए ।

प्रकाशित मिति : २०८१ मंसिर ९ गते, आईतवार


Scroll to Top

Janata Media