404 Not Found


nginx
पूर्वसुबेदार तिलक बहादुर थापाको ८१ हजार ५१७ रुपैयाँ सहयोगले खोटाङका तीन गाउँमा उज्यालो, दसैँ मनाउन सहज - Janata Media

पूर्वसुबेदार तिलक बहादुर थापाको ८१ हजार ५१७ रुपैयाँ सहयोगले खोटाङका तीन गाउँमा उज्यालो, दसैँ मनाउन सहज

जनता संवाददाता
२०८३ कार्तिक ७ गते, शुक्रबार

काठमाडौं । खोटाङ जिल्लाको जन्तेढुंगा गाउँपालिका–१, देवस्थान निवासी तथा नेपाली सेनाको श्री इन्द्रध्वज गणबाट अवकाश प्राप्त पूर्वसुबेदार तिलक बहादुर थापाको व्यक्तिगत आर्थिक सहयोगमा तीन गाउँमा पुनः विद्युत् सेवा सञ्चालनमा आएको छ। उनले ८१ हजार ५१७ रुपैयाँ बराबरको सहयोग उपलब्ध गराएपछि दसैँको समयमा अन्धकारमा रहेका गाउँहरूमा उज्यालो फर्किएको हो।

स्थानीय पञ्चकन्या हाइड्रोपावरमा जडान गरिएको फित्ता छुट्टिएर करिब एक महिनादेखि विद्युत् उत्पादन तथा वितरण बन्द भएको थियो। आर्थिक अभावका कारण आवश्यक मर्मतसम्भार गर्न समस्या भइरहेको अवस्थामा थापाले व्यक्तिगत रूपमा ८१ हजार ५१७ रुपैयाँ बराबरको फित्ता उपलब्ध गराए ।

दसैँजस्तो महत्वपूर्ण चाडपर्वको समयमा गाउँमा विद्युत् सेवा अवरुद्ध हुँदा स्थानीय बासिन्दाले विभिन्न कठिनाइ भोग्नुपरेको थियो। यस्तो अवस्थामा थापाले देखाएको सहयोगी भावनाले हाइड्रोपावर मर्मत गरी विद्युत् सेवा पुनः सञ्चालन गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ।

विद्युत् सेवा सुचारु भएसँगै तीन गाउँका स्थानीयवासीलाई दसैँ मनाउन सहज भएको छ। चाडपर्वको मुखमा गाउँमा उज्यालो फर्किएपछि स्थानीय उपभोक्तामा खुसी छाएको छ।

समाजप्रतिको उत्तरदायित्व निर्वाह गर्दै व्यक्तिगत रूपमा आर्थिक सहयोग गरेका पूर्वसुबेदार थापाप्रति सम्बन्धित समितिका पदाधिकारी तथा स्थानीय उपभोक्ताहरूले हार्दिक धन्यवाद र आभार व्यक्त गरेका छन्।

समितिले थापाको सामाजिक सेवाप्रतिको भावना र सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि उहाँका सामाजिक कार्यहरू निरन्तर अघि बढून् तथा हरेक कदममा सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरेको छ।

प्रकाशित मिति : २०८३ कार्तिक ७ गते, शुक्रबार