प्रेस काउन्सिललाई स्पष्ट जवाफ! आक्रमण गर्ने लक्ष्मी, उल्टै काउन्सिलमा उजुरी

जनता संवाददाता
२०८३ श्रावण १९ गते, मंगलवार

साउन ११ गते सोमबार, लघुवित्त पिडित राखिएको थापाथलीस्थित राम मन्दिरमा केही अभियन्तासहित हामी त्यहाँको अवस्था बुझ््न पुगेका थियौँ । पिडितहरुसँग त्यहाँको अवस्थाबारे बुझ्दै थियौँ । त्यसै क्रममा लक्ष्मी घिमिरे नाम गरेकी एक युवती पनि त्यही हुनुहुँदो रहेछ । जेनजी अभियन्ता अजय सोडारी र उनै लक्ष्मी सँगै भएको अवस्थामा मैंले भिडिओ खिचिरहेको थिएँ । लक्ष्मीले किन भिडिओ खिचेको भन्दै क्यामेरामा आक्रमण गरिन् । उनले फुटाईदिने धम्की समेत दिईन् । उल्टै त्यहाँ रहेका लघुवित्त पिडितलाई उचालेर हामीमाथि आक्रमण गर्ने, प्रहरीलाई बोलाएर पक्राउ गर्ने सम्मका क्रियाकलाप गरिन् । म माथि आक्रमण भएको पनि तपाईंलाई स्पष्ट पार्न चाहन्छु । प्रहरीको सहयोगमा हामी सुरक्षित निस्क्यौँ ।
रिपोर्टिङमा गएका हामीमाथि आक्रमण गरिनु, प्रहरीले बोलाएर लखेट्नु तर उल्टै प्रेस काउन्सिलमा उजुरी हाल्नु आफैंमा हाँस्यास्पद छ । काउन्सिलले पनि उजुरी लगत्तै स्पष्टीकरण सोध्नु र त्यस लगत्तै घटनाको सत्य तथ्य नबुझी हटाउन निर्देशन दिनुलाई गम्भीर रुपमा लिएको छु ।

मैंले प्रेस काउन्सिलमा स्पष्ट रुपमा जवाफ पेश गरेको छु । अब म प्रस्तुत गर्छु ।
यस प्रेस काउन्सिलबाट प्राप्त स्पष्टीकरण पेश गर्ने पत्रका सम्बन्धमा मेरो भनाइ निम्नानुसार विनम्रतापूर्वक पेश गर्दछु । साउन ११ गते सोमबार लघुवित्त पीडितहरू राखिएको थापाथलीस्थित राम मन्दिर परिसरमा म समाचार संकलन तथा रिपोर्टिङका लागि त्यहाँ पुगेको थिएँ । पत्रकारको हैसियतले सार्वजनिक स्थानमा भइरहेको घटनाक्रमको भिडिओ तथा दृश्य सामग्री संकलन गर्नु मेरो पेशागत दायित्व र संवैधानिक अधिकार हो । उक्त क्रममा लक्ष्मी घिमिरे नाम गरेकी व्यक्तिले मलाई भिडिओ किन खिचेको भन्दै एक्कासि क्यामेरामाथि आक्रमण गर्ने, क्यामेरा फुटाइदिने धम्की दिने, भिडिओ खिच्न नदिने तथा त्यहाँ रहेका केही व्यक्तिलाई उक्साएर ममाथि आक्रमण गराउने प्रयास गर्नुभयो । त्यसपछि प्रहरी बोलाएर पक्राउ गराउने धम्कीसमेत दिइयो । घटनालाई थप तनावपूर्ण बनाइयो, जसका कारण प्रहरीको सहयोगमा हामी सुरक्षित रूपमा त्यहाँबाट बाहिरिन बाध्य भयौं ।

यस घटनामा आक्रमणको सिकार पत्रकार भएको स्पष्ट हुँदाहुँदै उल्टै ममाथि प्रेस काउन्सिलमा उजुरी दर्ता गरिनु आफैंमा दुर्भावनापूर्ण, तथ्यहीन र पत्रकारितामाथिको दबाब सिर्जना गर्ने उद्देश्यबाट प्रेरित देखिन्छ । पत्रकारमाथि आक्रमण गर्ने पक्षले नै आफूलाई पीडित देखाएर उजुरी गर्नु न्याय र प्राकृतिक न्यायको सिद्धान्त विपरीत हो । काउन्सिलबाट उजुरी प्राप्त हुनासाथ घटनाको वास्तविकता, भिडियो सामग्री, प्रत्यक्षदर्शी तथा घटनास्थलका प्रमाणहरूको वस्तुनिष्ठ अध्ययन नगरी तत्काल सामग्री हटाउन निर्देशन दिइनु पनि गम्भीर विषय हो । कुनै पनि समाचार वा सामग्री हटाउने निर्णय गर्नुअघि घटनाको निष्पक्ष अनुसन्धान, दुवै पक्षको भनाइ र प्रमाणको परीक्षण आवश्यक हुन्छ भन्ने मेरो विश्वास छ । मैले सम्प्रेषण गरेको सामग्री सार्वजनिक चासोको विषयसँग सम्बन्धित थियो । उक्त सामग्री कुनै व्यक्तिको मानमर्दन गर्ने, घृणा फैलाउने वा झुटो सूचना प्रवाह गर्ने उद्देश्यले तयार गरिएको थिएन । ब? घटनास्थलमा पत्रकारमाथि भएको हस्तक्षेप र अवरोधलाई तथ्यका आधारमा प्रस्तुत गरिएको थियो । यस घटनामा वास्तविक पीडित पत्रकार हुँदाहुँदै उल्टै झुटा, भ्रामक तथा दुर्भावनापूर्ण आरोप लगाई मेरो पेशागत प्रतिष्ठामाथि आघात पुर्याउने प्रयास गरिएको छ । यस्तो कार्यले स्वतन्त्र पत्रकारिता, अभिव्यक्ति स्वतन्त्रता तथा समाचार संकलनको अधिकारमाथि प्रत्यक्ष असर पार्ने भएकाले यसलाई सामान्य रूपमा लिन मिल्दैन । तथापी घटनाका क्रममा आक्रोशमा प्रयोग गरिएका शब्दमा क्षमा याचना गर्न चाहन्छु ।

सम्मानित प्रेस काउन्सिलसँग मेरो विनम्र अनुरोध छ ।
प्रस्तुत उजुरीलाई एकपक्षीय रूपमा नहेरी घटनाको सम्पूर्ण भिडियो, प्रत्यक्षदर्शीको बयान तथा अन्य प्रमाणका आधारमा निष्पक्ष छानबिन गरियोस् ।
पत्रकारमाथि आक्रमण गर्ने, समाचार संकलनमा अवरोध सिर्जना गर्ने तथा झुटा आरोप लगाएर प्रेस काउन्सिलको प्रक्रियाको दु?पयोग गर्ने लक्ष्मी घिमिरे तथा संलग्न अन्य व्यक्तिमाथि प्रचलित कानून र प्रेस आचारसंहिताअनुसार आवश्यक कारबाहीका लागि सम्बन्धित निकायलाई सिफारिस गरियोस् ।
तथ्य र प्रमाणको निष्पक्ष मूल्याङ्कन नगरी समाचार हटाउन दिइएको निर्देशन पुनर्विचार गरी फिर्ता लिइयोस्् ।
भविष्यमा पत्रकारमाथि हुने यस्ता आक्रमण, धम्की र दबाबका घटनामा प्रेस स्वतन्त्रताको संरक्षण हुने गरी स्पष्ट र न्यायपूर्ण निर्णय गरियोस् ।
अन्त्यमा, म प्रेस आचारसंहिता, पत्रकारिताको मर्यादा तथा जिम्मेवारीप्रति पूर्ण प्रतिबद्ध रहेको पुनः स्पष्ट पार्दै, यस घटनामा सत्यतथ्यका आधारमा निष्पक्ष निर्णय हुने विश्वास व्यक्त गर्दछु ।

प्रकाशित मिति : २०८३ श्रावण १९ गते, मंगलवार


Scroll to Top

Janata Media