काठमाडौं । झापाको सताक्षीधाममा एक करोड १५ लाख रुद्राक्ष प्रयोग गरेर ५१ फिट अग्लो शिवलिङ्ग निर्माण गरिएको छ। नेपालका ५१ वटा जिल्ला र भारतका सिक्किम, दार्जिलिङ, गान्टोकको साथै भुटान र बर्मा लगायतका मुलकबाट रुद्राक्ष संकलन गरेर शिवलिङ्ग निर्माण गरिएको गोलोक गोवर्धन गौशाला सताक्षीधामका संस्थापक संरक्षक नन्दकिशोर भारद्वाजले बताएका छन्।
५१ फिट अग्लो, नेपालका ५१ वटा जिल्लाबाट सङ्कलन गरिएको रुद्राक्ष, १५१ दिनमा निर्माण भएको हो। यहाँ शनिवारदेखि ५१ जना ब्राह्मणद्वारा मूल पूजापाठ समेत सुरु गरिएको बताइएको छ। फलामको पातालाई बग्यांएर ५१ फिट अल्गो फ्रेम बनाएर त्यो फ्रेमलाई रुद्राक्षको मालाले छोपिएपछि आकर्षक बनेको छ।
कोशी प्रदेश सरकारले आँउदो वर्षको सुरुवातदेखि नै प्रदेशमा पर्यटन वर्ष मनाउने घोषणा गरेको अवस्थामा धार्मिक पर्यटनलाई बढवा दिनका लागि सताक्षीधाममा यो एउटा नयाँ आकर्षण थपिएको भारद्वाजले जनाउनुभयो। यो रुद्राक्ष जडित नेपालकै सबैभन्दा ठुलो शिवलिङ्ग भएको उनको दाबी छ।
यो निर्माणका लागि १७ लाखभन्दा बढी खर्च भएको गोलोके गोवर्धन गौशालाले जनाएको छ। यसमा दाताहरुको सहयोग रहेको छ। गोरक्षा महोत्सव २०८१ को अवसर पारेर यो निर्माण गरिएको भारद्वाजको भनाइ छ।







