काठमाडौं । सुदूरपश्चिम प्रदेशमा भएको उपनिर्वाचनमा नेपाली कांग्रेस चार वडाध्यक्ष र नेकपा एमाले एक गाउँपालिका उपाध्यक्षमा विजयी भएको छ ।कांग्रेस वडाध्यक्षबाहेक कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा विजयी भएको हो । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमाले की सुलोचनाकुमारी भण्डारीले एक हजार सात सय ४० मत प्राप्त गरी निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी पुल्तीसरा शाहीले एक हजार चार सय ७४ मत पाए ।तेस्रो स्थानमा नेकपा एकीकृत समाजवादीकी जवा शाहीले पाँच सय ५३ मत पाइन् । दुई वर्षअघि भएको निर्वाचनमा यो गापाको उपाध्यक्षमा कांग्रेसकी मैना जोशी निर्वाचित भएकी थिइन् । उनको निधनपछि उपनिर्वाचन भएको हो । विसं २०७४ मा भने सो गापामा एमाले नै विजयी भएको थियो ।दुई वर्षअघिको निर्वाचनमा पराजय बेहोरेको कांग्रेस उपनिर्वाचनमा बझाङ जिल्ला, सुर्मा गापा–४ र दार्चुला जिल्ला, दुहु गापा–५ को वडाध्यक्ष पदमा निर्वाचित भएको छ । सुर्मा–४ मा कांग्रेसका धीरेन्द्र पुजारा छ सय ५७ मतसहित विजयी हुँदा उनको निकटतम प्रतिस्पर्धामा एमालेका लखिचन्द्र बोहराले चार सय ८७ मत पाए । यसअघिको निर्वाचनमा एमालेका प्रत्यासी यो वडाको वडाध्यक्षमा विजयी भएका थिए ।







