यु–१९ महिला एसिया कपः पाकिस्तानसँग नेपालको ऐतिहासिक जित

जनता संवाददाता
२०८१ पुष १ गते, सोमबार

काठमाडौँ । नेपाल मलेसियामा जारी एसिसी यु–१९ महिला एसिया कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह चरणको आफ्नो पहिलो खेलमा सोमबार नेपालले पाकिस्तानलाई ६ विकेटले हरायो । पाकिस्तान लगातार दोस्रो हारसहित बाहिरिएपछि नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश पुगेको हो । नेपालले समूहको अर्को खेलमा मङ्गलबार भारतसँग खेल्नेछ । पाकिस्तान पहिलो खेलमा भारतसँग पराजित भएको थियो।

जितको लागि एक सय पाँच रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितमा कप्तान पूजा महतोले सर्वाधिक रन ४७ बनाईन् ।

उहाँले ४७ बलमा चार चौकाको सहयोगमा उक्त रन बनाएकी हुन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय चार रन बनाएको थियो ।

पाकिस्तानका लागि कोमल खानले सर्वाधिक ३८ रन बनाईन् । बलिङमा नेपालका कप्तान पूजाले दुई तथा रचना चौधरी, रिया शर्मा र सिमाना केसीले एक एक विकेट लिईन् । पहिलो पटक आयोजना भएको यु–१९ महिला एसिया कपमा नेपालले समूह ‘बी’ प्रतिस्पर्धा गरेको हो ।

यस्तै समूह ‘ए’ मा श्रीलङ्का, बङ्गलादेश र मलेसिया रहेको छ । एसियाबाट यु–१९ महिला विश्व कपमा छनोट भएकाले नेपालले एसिया कप खेल्ने मौका पाएको हो ।

यु–१९ महिला विश्वकप सन २०२५ को जनवरीमा मलेसियामै आयोजना हुँदैछ । विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । यस समूहमा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्ड छ ।

प्रकाशित मिति : २०८१ पुष १ गते, सोमबार


Scroll to Top

Janata Media