रवि लामिछानेलाई खोया प्रहार गर्ने व्यक्तिलाई १० दिन थुनामा राखिने

जनता संवाददाता
२०८० पुष ८ गते, आईतवार

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई खोया प्रहार गर्ने एक युवकलाई १० दिन हिरासतमा राखी अनुसन्धान गरिने भएको छ। सभापति लामिछानेमाथि शनिबार पोखराको अमरसिंह चोकमा भएको सभामा लमजुङको राइनास नगरपालिका वडा नम्बर ८ का सन्तोष रानाभाटले खोया प्रहार गरेका थिए।

सभालाई लामिछानेले सम्बोधन गरिरहँदा दिउँसो साढे २ बजेतिर ३३ वर्षीय रानाभाटले मकैको खोया प्रहार गरेका थिए। खोया लामिछानेलाई नलागी मञ्चमा खसेको थियो। रानाभाटलाई तत्काल नियन्त्रणमा लिई सम्झाउन खोज्दा प्रहरीमाथि नै दुव्र्यवहार गरेको कास्की प्रहरीको दाबी छ। ड्युटीमा रहेका प्रहरीलाई अपशब्द प्रयोग गरी गालिगलौज एवं हातपातसमेत गर्ने प्रयास गरेकाले रानाभाटलाई पक्राउ गरिएको कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए।

रानाभाटलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्दको कसुर अन्तर्गत अभद्र व्यवहार गर्न नहुने कसुरमा १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको विकले बताए।

घटनापछि पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका सभापति लामिछानेले एक, दुई आक्रमण र मुद्दाबाट आफू विचलित नहुने बताएका थिए। उनले त्यसलाई अहिलेको नेतृत्वविरुद्ध जनताको विकृष्णाको उपज भएको टिप्पणीसमेत गरेका थिए।

रानाभाटलाई मुद्दा नलगाई छाडिदिन लामिछानेले अनुरोध गरेका थिए।

प्रकाशित मिति : २०८० पुष ८ गते, आईतवार


Scroll to Top

Janata Media