अमेरिका पठाउने भनी २४ लाख ठगी गर्ने पक्राउ

जनता संवाददाता
२०८१ पुष २ गते, मंगलवार

काठमाडौं । अमेरिका पठाउने भन्दै २४ लाख रुपियाँ ठगी गर्ने ४९ वर्षीय पूर्णबहादुर गिरीलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार स्थायी घर धनकुटा पाख्रिवास नगरपालिका–८ भइ हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–९, जोरपाटी बस्ने गिरीले अमेरिका पठाउने भनी तीन जनाबाट २४ लाख रकम लिएका थिए।

यसैगरी, स्थायी घर खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ भइ हाल भक्तपुर सुर्यविनायक नरगपालिका- ५, सल्लाघारी बस्ने २० वर्षीय मिसन गुरुङले माल्टा पठाउने भनी तीन लाख पाँच हजार रुपियाँ ठगी गरेको प्रहरीले जनाएको छ।

उनीहरुले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरुमा लैजाने भनी लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाइ सम्पर्कविहिन भएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार उनीहरुमाथि थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।

यसैगरी, प्रहरीले नियन्त्रित औषधिसहित दुई जनालाई पक्राउ गरेको छ।

ललितपुर महानगरपालिका वडा नं १७ ग्वार्कोस्थित प्रभात माध्यामिक विद्यालयको भवनमा निरकुमार यादवले भाडामा लिइ सञ्चालन गरेको राधा कृष्णा मेडिकल हलमा चिकित्सकको प्रेस्क्रीप्सन बिना अवैध रुपमा नियन्त्रित औषधि बिक्री वितरण गर्दै आएको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

स्थायी घर सप्तरीको बोदे बसाइन नगरपालिका–३ भइ हाल ललितपुर, इमाडोल बस्ने ५१ वर्षीय उमेशप्रसाद यादव र स्थायी घर सर्लाही पर्सा गाउँपालिका–४ भइ हाल काठमाडौं सिनामंगल बस्ने २४ वर्षीय धिरेन्द्र कुमार यादवलाई पक्राउ गरी थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८१ पुष २ गते, मंगलवार


Scroll to Top

Janata Media