महिलाको नेतृत्व प्रभावकारी

जनता संवाददाता
२०८१ पुष २० गते, शनिबार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको औचित्य स्थापित गर्न महिला जनप्रतिनिधिले सक्रिय भूमिका निर्वाह गरेको बताएका छन् । महिलाको नेतृत्वमा स्थानीय तहको सेवा प्रभावकारी भएको समेत उनले उल्लेख गरे ।

‘कल्प एम्पावर वेमेन नेपाल’ द्वारा शुक्रबार आयोजित महिला जनप्रतिनिधिहरूको सम्मान ‘सी लिड्स आइकन’ कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, “व्यवस्थामा परिवर्तन भयो, अवस्थामा परिवर्तन भएन भन्ने गलत भाष्य चिर्न महिला जनप्रतिनिधिको उपस्थिति र सक्रियता नै काफी छ । महिला जागे भने समाज परिवर्तन हुन्छ भन्ने प्रमाण स्थापित भएको छ ।”

नगरपालिका र गाउँपालिकाको प्रभावकारी सेवा प्रवाह र औचित्य स्थापित गर्ने काममा महिला जनप्रतिनिधिले अगुवाइ गरेकोमा प्रधानमन्त्रीले खुसी व्यक्त गरे । महिलाको सशक्तीकरण वृद्धि भएको चर्चा गर्दै छोरीहरूको साक्षरता बढेको र हरेक क्षेत्रमा महिलाले सफलता प्राप्त गरेको उनको भनाइ छ ।

नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले महिलाहरू शासन गर्ने स्थानमा पुग्नु राजनीतिक परिवर्तनको उपलब्धि भएको दाबी गर्दै भने, “महिलाले समान अधिकार पाउनु संवैधानिक र कानुनी अधिकार हो ।

ती सबै समानता दिने ठाउँमा हामी पुग्नु पर्छ । हक अधिकारको उपभोग र अवसरमा समानता चाहिएको छ । आज स्थानीय तहमा ४० प्रतिशत महिला जनप्रतिनिधि छन् । यो उपस्थिति प्रगतिउन्मुख छ ।”

उनले महिलामा करुणा, माया र स्नेहभाव बढी हुने भएकाले उनीहरूको भूमिकाले हरेक क्षेत्रमा उत्कृष्टता हासिल गरेको उल्लेख गरे ।

नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सुशासनयुक्त भ्रष्टाचारमुक्त पालिका निर्माणमा सक्रियता बढाउन महिला जनप्रतिनिधिलाई आग्रह गरे । स्थानीय जनप्रतिनिधिले सामाजिक, सांस्कृतिक परिवर्तनका लागि योजना बनाएर काम गर्नुपर्नेमा जोड दिए ।

उपाध्यक्ष शाक्यले भने, “सुसंस्कृत समाज निर्माण पनि समृद्धि हो । सामाजिक न्यायसहितको समृद्धि हुनु पर्छ । आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणको खाँचो छ ।”

सो अवसरमा प्रभावकारी काम गर्ने विभिन्न पालिकाबाट छानिएका २७ जना महिला जनप्रतिनिधिलाई ‘सी लिड्स आइकन’ सम्मान गरिएको थियो । त्यस्तै तीन उत्कृष्ट महिला जनप्रतिनिधिलाई ‘सी लिड्स आइकन अवार्ड’ प्रदान गरिएको थियो । कार्यक्रममा देशका विभिन्न स्थानीय तहका जनप्रनिधिको उपस्थिति थियो ।

प्रकाशित मिति : २०८१ पुष २० गते, शनिबार


Scroll to Top

Janata Media