बसको ठक्करबाट महिलाको मृत्यु

जनता संवाददाता
२०८१ पुष २४ गते, बुधबार

काठमाडौं । बसको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका-५ विरेन्द्र चोकबाट नयाँ बसपार्कतर्फ जाँदै गरेको लु. प्र. ०२००१ ख. ४४ नम्बरको बसको ठक्करबाट तुलसीपुर-५ सम्झना टोलकी ३९ वर्षीया तिर्सना घर्ति मगरको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक विनोदराज खत्रीका अनुसार बुधबार दिउँसो पौने दुई बजेतिर तुलसीपुर-५ नयाँ बसपार्कस्थित माछापुच्छ्रे गेट नजिकै बसले घर्तिलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएकी घर्तिलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्‍याइएको थियो।

अस्पताल पुर्‍याए लगत्तै उपचारकै क्रममा सवा दुई बजेतिर मृत्यु भएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जनाएको छ । मृतक महिलाको शवलाई अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ।

ठक्कर दिने बस र बसका चालक तुलसीपुर(६ का ४२ वर्षका खेमराज ओली प्रहरीको नियन्त्रणमा रहेका छन् । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ पुष २४ गते, बुधबार


Scroll to Top

Janata Media