गुल्मीमा चाडपर्वलक्षित सुरक्षा व्यवस्थामा कडाइ

जनता संवाददाता
२०८२ आश्विन १३ गते, सोमबार

काठमाडौं । गुल्मीमा चाडपर्वको समयमा शान्ति सुरक्षा कायम राख्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । जिल्ला प्रहरी कार्यालयले चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएर प्रहरी परिचालन गरेको हो ।

चाडपर्वमा हुनसक्ने चोरी डकैती, ठगी, लुटपाट, कुटपिट, झै–झगडा, सवारी दुर्घटना, कालोबजारी, खाद्य पदार्थको कृतिम अभाव तथा पटाकाहरुजस्ता अपराधजन्य कार्यहरु न्यूनीकरण गर्न सुरक्षाको लागि सुरक्षाकर्मीहरु तैनाथ पारिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ९एसपी० नारायणप्रसाद अधिकारीले बताए ।

उहाँका अनुसार विशेषगरी चाडपर्वको समयमा हुने भीडभाड, यात्रु आवागमन, किनमेल र सम्भावित आपराधिक गतिविधिलाई मध्यनजर गर्दै सुरक्षाकर्मीलाई सतर्क रहन आग्रह गरिएको छ ।

जिल्लाभर सुरक्षा सतर्कता बढाइएको छ । मठमन्दिर, सार्वजनिकस्थल तथा यातायात व्यवस्थामा विशेष निगरानी गरिएको उहाँले जानकारी दिए ।

चाडपर्वको समयमा यस जिल्लामा शान्ति सुरक्षा कायम राख्न विभिन्न १६ संख्यामा ३६८ जना प्रहरीलाई परिचालित गरिएको छ । कमाण्ड पोष्ट, जिल्ला रिजर्भ, क्यूआरटी परिचालन, कार्यालय सुरक्षा, मोबाईल गस्ती, पैदल गस्ती, पिकेट, ट्राफिकसहितको संयुक्त चेकिङ, भिभिआइपि तथा भिआइपि को सुरक्षा प्रहरी परिचालित गरिएको छ ।

त्यसैगरी, सूचना संकलन, यात्रु सहायता कक्ष, धार्मिक तथा पर्यटकीयस्थल सुरक्षा, राजमार्ग स्कटिङ, २४ सै घण्टा राजमार्ग विशेष सुरक्षा, ग्रामीण गस्ती, बजार अनुगमन लगायतका विभिन्न डिउटीमा प्रहरी परिचालित भएका छन् ।

सर्वसाधारण आम नागरिकलाई सुरक्षित रुपमा चाडपर्व मनाउने वातावरणसँगै सुरक्षित भएको अनुभूति गराउन मोबाईल र पैदल गस्ती समेत बढाइएको उनले बताए ।

चाडपर्वको समयमा आवत–जावत गर्ने यात्रुको सहजतासँगै सुरक्षित रुपमा गन्तव्यसम्म पुग्ने वातावरण मिलाउन विभिन्न स्थान तथा बसपार्कहरुमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ ।

चाडपर्व मनाउँदा अर्कालाई असर पर्ने कार्य नगर्न आग्रह गर्दै प्रहरीले होहल्ला गर्ने तथा शान्ति सुरक्षामा खलल पुर्‍याउनेहरुविरुद्ध कारबाही गरिने प्रहरी उपरीक्षक अधिकारीले बताए ।

प्रकाशित मिति : २०८२ आश्विन १३ गते, सोमबार


Scroll to Top

Janata Media