पाँच सय ३१ जनाको आँखाको निःशुल्क शल्यक्रिया

जनता संवाददाता
२०८१ माघ ३ गते, बिहीबार

काठमाडौं । नेपाली सेनाको सहयोगमा रौतहटका विपन्न तथा गरिब परिवारका पाँच सय ३१ जनाको निःशुल्क शल्यक्रिया गरिएको छ । गत पुस २८ गतेदेखि माघ २ गतेसम्म रौतहटको गरुडा–५ शिवनगरमा आयोजित निःशुल्क आँखा शिविरमा पाँच सय ३१ जनाको आँखाको शल्यक्रिया गरिएको हो ।

नेपाल आँखा कार्यक्रम तिलगङ्गा आँखा प्रतिष्ठानको सहकार्य र नेपाली सेना वीरदल गण गौरको संयोजनमा आँखाको परीक्षण तथा शल्यक्रिया गरिएको वीरदल गणका प्रमुख सेनानी किशोर अधिकारीले जानकारी दिए ।

शिविरमा तीन हजार पाँच सय १० को आँखा परीक्षण, सहुलियतमा चस्मा प्रदानलगायत सेवा उपलब्ध गराइएको उहाँले बताए । अधिकारीले शिविरमा चन्द्रपुर, गुजार, राजपुर, गरुडा र गढीमाई नगरपालिकाका स्थानीयले सेवा लिएको उल्लेख गरे ।

यसैबिच नेपाली सेनाले चन्द्रपुर–७ मा रहेको जनता आधारभूत विद्यालयमा निर्माण गरिएको शौचालय विद्यालयलाई हस्तान्तरण गरेको छ । नयाँबस्तीमा रहेको उक्त विद्यालयमा नेपाली सेनाको सहयोगमा निर्माण भएको चारकोठे शौचालय हस्तान्तरण गरिएको प्रमुख सेनानी अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ माघ ३ गते, बिहीबार


Scroll to Top

Janata Media