
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले बृहत् वामपन्थी मोर्चा अहिलेको आवश्यकता भएको बताएका छन् ।
शनिबार काठमाडौंमा एकदेव आलेको ५६ औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सबैलाई महशुस भएको खण्डमा अहिलेको आवश्यकता बृहत् वामपन्थी एकताको भएको र महशुस नभएको खण्डमा ०८४ सालको निर्वाचनपछि थाहा हुने औंल्याए ।
एकदेव आलेको सपना पूरा गर्ने भए नेपालका सबै कम्युनिष्टहरूले एकीकृत पार्टी निर्माण गरेर जानुपर्ने बताए । उनले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न र सही वैचारिक राजनीतिक कार्यदिशा आवश्यक भएको भनाइ व्यक्त गरे । उनले पार्टीका अध्यक्ष माधवकुमार नेपालप्रति कटाक्ष गर्दै उहाँले कतिपयले समाजवादी मोर्चा भन्ने गरेको भए पनि अहिले समाजवादी मोर्चाको परिपक्व अवस्था नभएको बताए ।
उनले भने, ‘‘हामीले अहिलेको अवस्थामा आन्दोलनलाई एकताबद्ध गर्ने हो भने सही वैचारिक राजनीतिक कार्यदिशामा आउनुपर्छ । सही वैचारिक कार्यदिशा अहिले नै पहिल्याउन सकिँदैन भने कमसेकम साझा आधार त छ । कमन ग्राउन्ड त छ । कमन ग्राउन्ड रूप दिएर एउटा बृहत् वामपन्थी मोर्चा बनाउन जरुरी छ । अब कतिपय साथीहरू समाजवादी मोर्चा भन्नुहुन्छ ।,’’ उनले भने, ‘‘समाजवादी मोर्चाको अहिले त्यो परिपक्व अवस्था होइन । किनभने सबैले समाजवादी कार्यक्रम नै लिएका छैनन् । समाजवादी कार्यक्रम नै नलिएकाहरूले के समाजवादी मोर्चा बनाउने ? नाम मात्रैको समाजवादी मोर्चा बनाउने हो भने जेजे गरे पनि हुन्छ ।’’
पूर्वप्रधानमन्त्री खनालले नेपाली कांग्रेस नेपालको दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएको बताए । उनले कम्युनिष्टहरूको मुख्य प्रतिद्वन्द्वी कांग्रेस नै रहेको बताए । नेपालको कम्युनिष्ट आन्दोलन क्रमिक रूपले विभाजित भइरहेको पनि उनको भनाइ छ ।