
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम राष्ट्रिय महाधिवेशनमा प्रवासमा रहने सदस्यहरुका लागि अनलाइन मतदानको व्यवस्था गरिने भएको छ ।
शनिबार काठमाडौंमा प्रथम राष्ट्रिय महाधिवेशनका सम्बन्धमा आयोजित पत्रकार सम्मेलनका क्रममा पार्टीका नेत्री हिसिला यमीले यस्तो जानकारी दिएका हुन् ।
उनले भारतमा रहने प्रवासी सदस्यहरुलाई अनलाइनबाट मतदान गर्न पाउने व्यवस्था गरिएको बताए । उनले पार्टीले समावेशीताको मर्मअनुसार पदाधिकारी चयन गर्ने जानकारी दिए ।
अध्यक्ष, महासचिव र कोषाध्यक्ष खुला प्रतिस्पर्धाको आधारमा छनोट हुने र उपाध्यक्ष समूहगत प्रतिस्पर्धाको आधारमा चयन हुने बताए। त्यस्तै सचिवमा महिलालाई प्राथमिकता दिएर जाने र बाँकीलाई फ्रि इलेक्शनको माध्यमबाट चयन गर्ने बताए ।
‘‘हामी एउटा नयाँ एक्सपेरिमेण्ट गर्दैछौँ । समावेशीलाई साँच्चै त्यसको मर्मलाई समेटेका छौँ । हाम्रो पदाधिकारीमै समावेशीअन्तर्गत अध्यक्ष, महासचिव र कोषाध्यक्ष खुला प्रतिस्पर्धाको आधारमा व्यक्तिगत प्रतिस्पर्धाको आधारमा छ भने उपाध्यक्ष ग्रुप प्रतिस्पर्धाको माध्यमबाट आउने, सचिवमा महिलालाई प्राथमिकता दिएर जाने र बाँकीलाई फ्रि इलेक्शनको माध्यमबाट गर्दैछौँ ।,’’ नेत्री यमीलले भने , ‘‘सिसिएमहरुलाई पनि उठ्नका लागि हामीले क्लस्टरको आधारमा सरकारले फलो गरेको प्रतिशतको आधारमा हामीले गरेका छौँ । यो हाम्रो लागि पनि चुनौति हो । यो राजनीतिक उडानका लागि पनि चुनौति हो ।’’
पार्टीका नेता कृष्ण शर्माले राजनीतिक समस्या मात्र नभइ समाधान पनि भएको बताए । उनले अहिले पुराना राजनीतिक दलहरुले समस्या मात्रै उजागर गर्ने गरेको, जनताको भावनालाई समातेर सत्तामा जाने र सत्ताकोदोहन गर्ने काम गरिरहेको आरोप लगाए ।
नयाँ शक्ति भनेको समाधान भएकाले समाधानसहितको दिशामा अघि बढाउने बताए । पार्टीले स्थानीय निकायलाई मुख्य आधार मानेको बताउँदै ७५३ मध्ये ५१२ स्थानीय निकायबाट प्रतिनिधित्व भएको जानकारी दिए । ३१ हजार पार्टी सदस्यहरु, त्यहाँबाट निर्वाचित भएका एक हजार ५ सय प्रतिनिधिहरु काठमाडौं आइसकेको जानकारी दिए ।
पुराना शक्तिहरुलाई पार्टीको महाधिवेशनमा नबोलाइएको बताए । उनले पार्टीका नेताहरु आफैँ आत्मनिर्भर हुने, स्वायत्त र स्वचालित ढङ्गका पार्टीका नियकाहरु हुने उल्लेख गरे । शक्ति पृथकीकरणको सिद्धान्तलाई पार्टीभित्र अपनाउने बताए ।
पार्टीको महाधिवेशन नेपालको राजनीतिक प्रणालीलाई पुनःसंरचना गर्ने र नेपालको राष्ट्रिय राजनीतिक नयाँ दिशामा मार्ग प्रशस्त गर्ने वैकल्पिक राजनीतिक धार भएको बताए । नेपाल समाजवादी पार्टी ९नयाँ शक्ति० को प्रथम राष्ट्रिय महाधिवेशन माघ २७ गतेदेखि सुरु हुँदैछ ।