अध्यक्ष ओलीद्धारा चियापान कार्यक्रम आयोजना

जनता संवाददाता
२०८० कार्तिक ४ गते, शनिबार

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गृह जिल्ला झापामा शुभकामना आदनप्रदानसहित चियापान कार्यक्रमको आयोजना गरेका छन् । बिर्तामोडको सिटी सेन्टरमा उहाँले शुभकामना आदनप्रदानसहित चियापान कार्यक्रम राखेका हुन् ।

शुभकामना कार्यक्रममा अध्यक्ष ओलीले यस प्रकारका मौलिक चाडपर्वले एक आपसमा भाइचारा अभिवृद्धि गर्न ठूलो भुमिका खेलेको बताए । उनले यस्ता चाडपर्वलाई भड्किलो बनाउनु नहुने जनाउँदै सबैलाई दसैं तथा तिहारलगायत थप आँउदैगरेका चाडपर्वको शुभकामना दिए । अध्यक्ष ओलीले कार्यक्रममा राजनीतिक भनाइहरु भने राखेनन् ।

नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य देवेन्द्र दाहालका अनुसार २०५६ सालदेखि दसैंको नवमीको दिन हरेक वर्ष अध्यक्ष ओली आफैको संयोजनमा शुभकामना कार्यक्रम आयोजना गर्ने गरिएको छ । शुभकामना कार्यक्रममा जिल्लामा उपलब्ध विभिन्न पार्टीका शीर्ष नेताको सहभागिता रहनेगरेको छ ।

हरेक बर्ष महानवमीको दिन गृह जिल्ला झापामा आफैंले आयोजना गर्नेगरेको दसैंबिशेष शुभकामना आदनप्रदान कार्यक्रम यस पटक केही दिनअघि षष्ठीको दिन आयोजना गरिएको बताइएको छ । कार्यक्रममा एमाले उपाध्यक्ष विष्णु पौड्याल, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मत कार्कीलगायतको उपस्थिति थियो ।

अध्यक्ष ओलीको गृहजिल्ला झापा आउने र केही दिन यतै बस्ने भएपछि सुरक्षा ब्यवस्था कडा पारिएको सुरक्षा स्रोतले जनाएको छ । कार्यक्रमस्थल विर्तामोडको सिटी सेन्टरमा विहानैदेखि सुरक्षा निगरानी बढाएर प्रहरीले कडा सुरक्षा दिएको छ ।

केही दिनअघि झापाको अर्जुनधारामा एमाले नेता महेश बस्नेत सहभागी एक कार्यक्रममा पहिचानवादीसहितको समुहमा मिसिएर दुर्गा प्रसाइका समर्थकहरुले आक्रमण प्रयास गरेका थिए । कार्यक्रमस्थलनमा एमाले कार्यकर्ताले प्रयोग गरेका गाडी तोडफोड भएको थियो । गाडि तोडफोडमा संलग्न दूईजनालाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक ४ गते, शनिबार


Scroll to Top

Janata Media