मनाङको तिमाङ जङ्गलमा लागेको आगो अझै आएन नियन्त्रणमा

जनता संवाददाता
२०८१ माघ २९ गते, मंगलवार

काठमाडौं । मनाङको चामे गाउँपालिका–१ तिमाङ नजिकै जङ्गलमा भएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । सोमबार साँझ भएको हल्का वर्षाले केही मत्थर पारे पनि पूर्णरूपमा नियन्त्रण हुन नसकेको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिए ।

यही माघ १८ गते बेलुकीदेखि भएको सो आगो पूर्णरूपमा नियन्त्रणमा आउन नसक्दा आगलागी तथा वन डढेलो नियन्त्रण पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१ पारित गरी कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाइएको प्रजिअ आचार्यले जानकारी दिए ।

‘‘वन सुरक्षा समन्वय समितिको बैठक सम्पन्न भएको छ’’, उनले भने, ‘‘आगो पूर्ण नियन्त्रणका लागि अन्नपूर्ण संरक्षण केन्द्र (एक्याप), डिभिजन वन कार्यालय, स्थानीय जनता र सुरक्षाकर्मी निरन्तर परिचालन गरिएको छ ।’’

आगो पूर्णरूपमा नियन्त्रणमा नआएसम्म हरेक दिन बिहानैदेखि सम्पूर्ण निकायबाट सबै संयन्त्र तथा जनशक्ति आगलागी भएको क्षेत्रमा परिचालन गरी पूर्ण नियन्त्रणको प्रयास जारी रहने जनाइएको छ । जटिल भूगोलका कारण आगलागी नियन्त्रण गर्न नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

समयमा आगलागी नियन्त्रणमा लिन नसक्दा पशुहरूको चरन क्षेत्र नष्ट भएको छ भने राष्ट्रिय पन्छी डाँफेको बासस्थान र कोपिला लागेको लालीगुराँसको बोट नष्ट भएका छन् ।

यद्यपि जान सक्ने स्थानसम्म पुगेर सुरक्षाकर्मी र स्थानीयले आगलागी नियन्त्रणमा लिने प्रयास भने जारी नै छ । आगलागी अन्यत्र नफैलिओस् भनेर सुरक्षित गर्ने काम भने गरिसकेको तथा मानव बस्तीमा आगलागीको जोखिम नरहेको प्रजिअ आचार्यले उल्लेख गरे ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० इलाका कार्यालयका प्रमुख ढकबहादुर भुजेलले हिउँ पर्ने स्थानमा हिउँ नपर्नु, सुक्खा हुनुलगायत कारणले आगलागी भएको भन्दै सुख्खा बढी भएकाले आगो नियन्त्रणमा लिन नसकिएको बताए ।

आगलागीकै कारण प्रत्येक वर्ष वन्यजन्तु तथा पशुपन्छीको बासस्थान मासिँदै जाँदा लोपोन्मुख वन्यजन्तु पूर्णरूपमा लोप हुन सक्ने देखिएको छ । आगलागीबाट सल्लाको काठ, धुपीजस्ता बहुमूल्य तथा औषधीय जडीबुटीको विनाश भएको छ ।

यस वर्षको मङ्सिरयता ताल, आइसलेक, पिसाङ भीरमा आगलागी भएको एक्यापले जनाएको छ । विसं २०७७ साल मङ्सिर २ गतेदेखि लागेको आगो दुई महिनापछि मात्रै नियन्त्रण आएको थियो । उक्त आगलागीका कारण मनाङको एक हजार दुई सय हेक्टर क्षेत्रफल वनजङ्गल नष्ट भएको थियो ।

मनाङको आगलागी नियन्त्रणका लागि प्रकृतिकै भर पर्नुपर्ने अवस्था आउन नदिन सतर्क रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८१ माघ २९ गते, मंगलवार


Scroll to Top

Janata Media