पुलिस आहा–रारा गोल्डकपको फाइनलमा

जनता संवाददाता
२०८१ माघ ३० गते, बुधबार

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब पोखरामा जारी २४औँ संस्करणको आहा–रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालामा बुधबार भएको प्रतिस्पर्धात्मक पहिलो सेमिफाइनल खेलमा पुलिसले ‘ए’ डिभिजन लिग च्याम्पियन टोली चर्च ब्वाइज क्लबलाई १–० गोलले हरायो ।

पुलिसको कठिन जितमा सञ्जिव लामाले निर्णायक गोल गरे। लामाले ५८औँ मिनेटमा करिब २५ यार्ड लामो भली प्रहारमा गोल गरेका हुन् । पुलिस सर्वाधिक ११औँ पटक आहा–राराको फाइनलमा पुगेको हो । निर्णायक गोल गरेका लामा खेलमा म्यान अफ दि म्याच घोषित भए ।

खेलमा दुबै टोलीले केही राम्रा अवसरलाई गोलमा परिणत गर्न भने चुकेका थिए । आहा–राराको बुधबारको खेल २५०औँ खेल हो ।

यो खेल मोफसलमा आयोजना हुने प्रतियोगिताको २५०औँ खेल पुगेको पहिलो हो । पुलिसले २०७६ सालपछि आहा–राराको फाइनलमा स्थान बनाएको हो ।

यसअघि ६ पटकको च्याम्पियन पुलिसले उपाधिका लागि थ्रीस्टार र उज्वेकिस्तानको ब्ल्याक बुल्सबिचको विजेतासँग शनिबार प्रतिस्पर्धा गर्नेछ ।

दोस्रो सेमिफाइनल खेल बिहीबार हुनेछ । खेलपछि चर्च ब्वाइजका प्रशिक्षक चेतनारायण श्रेष्ठले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा पराजित भएको बताए ।

पुलिसका प्रशिक्षक चेतन घिमिरेले फाइनलमा राम्रो खेल्ने उपाधि जित्ने दाबी गरे । स्वदेशी र विदेशी गरी १२ टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेता टोलीले १२ लाख एक हजार र उपविजेताल ६ लाख एक रुपियाँ पुरस्कार पाउनेछ ।

 

 

प्रकाशित मिति : २०८१ माघ ३० गते, बुधबार


Scroll to Top

Janata Media