फ्रान्सेली अति-दक्षिणपन्थीद्वारा प्रधानमन्त्रीलाई बचाउने सम्झौता अस्वीकार

जनता संवाददाता
२०८२ भाद्र १२ गते, बिहीबार

काठमाडौं । फ्रान्सको प्रमुख अति-दक्षिणपन्थी पार्टीले बिहीबार प्रधानमन्त्री फ्रान्कोइस बायरूसँग बजेटबारे सम्झौता गर्न ‘धेरै ढिलो’ भइसकेको भन्दै अस्वीकार गरेको छ ।

सरकारले खर्च कटौती गर्न चाहेको बजेटबारे महिनौँदेखिको गतिरोधपछि आगामी सेप्टेम्बर ८ मा आह्वान गरिएको विश्वासको मतमा बायरूले आफ्नो अस्तित्व जोगाउनु पर्ने छ ।

तर अति-दक्षिणपन्थी र वामपन्थी दलले समर्थन नगर्ने घोषणा गरेपछि विश्लेषकले गत डिसेम्बरमा पदभार ग्रहण गरेका ७४ वर्षीय बायरूको प्रधानमन्त्री पद केही महिनामै जोखिममा पर्न सक्ने चेतावनी दिएका छन् । “धेरै ढिलो भयो ।

प्रधानमन्त्री महोदय, तपाईंले फ्रान्सेली जनतालाई फाइदा हुने बजेट बनाउन पर्याप्त अवसर गुमाउनुभयो”, नेसनल र्याली ९आरएन० का उपनेता सेबास्टियन चेनुले टिएफ टेलिभिजनलाई भन्नुभयो, “पृष्ठ पल्टिएको छ । संवाद अब विगतको कुरा भइसकेको छ ।”

बायरूले सोमबारदेखि पार्टी नेतासँग वार्ता सुरु गर्ने घोषणा गरेका थिए । उनले फ्रान्सको ऋण भार कम गर्नका लागि दलले बचत उपायमा सहमति जनाए मात्र छलफल गर्न सकिने बताए ।

तर उनले गर्मीमा पार्टी नेतासँग सम्पर्क नगरेको कारण ‘उनिहरू बिदामा हुनुहुन्थ्यो’ भन्ने टिप्पणी गर्दा चेनुले कडा असन्तुष्टि जनाए । चेनुले भने, “यो बयान अपर्याप्त मात्र होइन, तर ५० वर्षदेखि राजनीतिमा सक्रिय व्यक्तिबाट आएको हुनाले निकै चिन्ताजनक छ ।”

यदि बायरूले विश्वासको मत गुमाउनुभयो भने, उनले आफ्नो सम्पूर्ण सरकारसँगै राजीनामा दिनुपर्नेछ । त्यसपछि राष्ट्रपति इमानुएल म्याक्रोनले उनलाई पुनः नियुक्त गर्न सक्ने छन् वा नयाँ व्यक्तित्वलाई प्रधानमन्त्री चयन गर्न सक्ने छन् । यस अवस्थामा, सन् २०१७ मा पदभार सम्हालेयता म्याक्रोनले सातौँ प्रधानमन्त्री नियुक्त गर्ने सम्भावना हुने छ ।

त्यसैगरी, उनले चाहेको खण्डमा राष्ट्रपति म्याक्रोनले एक वर्षभन्दा बढी समयदेखि फ्रान्सलाई सताइरहेको राजनीतिक गतिरोध तोड्न चाँडै चुनावको आह्वान पनि गर्न सक्ने छन् ।

तर बायरूले भने आकस्मिक चुनावले स्थिरता ल्याउन नसक्ने चेतावनी दिएका छन् । उनले सन् २०२४ को गर्मीमा भएको पछिल्लो चुनावले नै नेसनल र्याली ९आरएन० लाई संसद्को सबैभन्दा ठूलो एकल पार्टीको रूपमा स्थापित गरेको स्मरण गराए ।

बायरूले आफैँ विश्वासको मत जित्ने सम्भावनाबारे आशावादी नभएको स्वीकार गर्दै भने, “आज, हामीलाई थाहा छ कि संसदबाट यो विश्वास प्राप्त गर्न सक्दैनौँ, तर लामो समयदेखि हाम्रो हातमा बहुमत छैन भन्ने पनि प्रष्ट छ ।” तर उनले देशको ऋण भार घटाएर फ्रान्सका युवालाई सहयोग गर्नुपर्ने आवश्यकतामा जोड दिए । उनका अनुसार, यो ऋण युद्धपछिको पुस्ताका ‘बुमरको आरामका लागि’ वर्षौँदेखि जम्मा हुँदै आएको हो ।

प्रकाशित मिति : २०८२ भाद्र १२ गते, बिहीबार