केपी ओली दम्पतीको लागि गुण्डुमै ‘ओली कुटी’ निर्माण गरिने

जनता संवाददाता
२०८२ कार्तिक ७ गते, शुक्रबार

भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली दम्पतीको लागि भक्तपुरको गुण्डुमा आवास निर्माण हुने भएको छ । गुण्डुबासीको पहलमा ओली दम्पतीको लागि आवास बन्न लागेको एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले जानकारी दिए ।

ओली दम्पतीको लागि ‘ओलीकुटी’ निर्माण गर्न गुण्डुबासीले सङ्कल्प गरेको उनले जानकारी दिए । एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ओलीको बालकोटस्थित निवासमा जेनजी आन्दोलनको नाममा गत भदौ २४ गते आन्दालनकारी समूहले आगो लगाएर नस्ट गरेका थिए । अध्यक्ष ओलीले सो घर राज्यको नाममा नामसारी गरिसकेको सो भवनमा महत्त्वपूर्ण पुस्तक तथा ओलीलाई जीवनभरि प्राप्त भएका विभिन्न उपहारहरू संग्रहित थिए ।

सो घरमा भएका अमूल्य सामान तथा मूर्तिहरू लुटपाट गरेर लगिएको अध्यक्ष ओली दम्पतीको भनाइ छ । घर आगो लगाएर पूर्णरुपमा ध्वस्त बनाइएको छ । बस्नेतले टबालकोटमा भवन जलेको ठाउँमा नयाँ भवन नबाउने बताए । अध्यक्ष ओलीको लागि गुण्डुमा नै ‘ओलीकुटी’ निर्माण गर्ने घोषणा उनले गरेका छन् ।

ओली दम्पतीले बस्नेत र एमाले नेताको साथमा बालकोटमा जलेको अध्यक्ष ओलीको घर अवलोकन गरेका छन् । भग्नावशेष बनेको सो भवनको अवलोकन पछि बस्नेले ओलीको लागि गुण्डुमा नै आवासको व्यवस्था गर्ने घोषणा गरेका थिए ।

‘ओलीकुटी’ निर्माणको लागि आफूले संयोजकको भूमिका निर्वाह गर्ने बस्नेतले जानकारी दिए । ‘अध्यक्ष केपी शर्मा ओलीका लागि ‘ओलीकुटी’ निर्माणको सङ्कल्प, स्थानीयले आफ्नै पहलबाट घर बनाउन पहल लिएका छन् । म आफू संयोजकको भूमिकामा रहनेछु’ बस्नेतले भने। भवन कस्तो बनाउने भन्ने विषयमा सुझाव सङ्कलन गर्न लागिएको बस्नेतले बताए ।

प्रकाशित मिति : २०८२ कार्तिक ७ गते, शुक्रबार


Scroll to Top

Janata Media