
भैरहवा । बुधवार राति नेपाल ल्याइएकी प्रकृति लम्सालको बिहीबार अन्त्येष्टि गरिएको छ । भारतमा मृत्यु भएकी भैरहवाकी विद्यार्थी प्रकृतिको शव बुधवार राति ११ बजे गृह जिल्ला रुपन्देही ल्याइएको थियो । उहाँको शव सिद्धार्थनगर नगरपालिका–८ स्थित बैंक कोलोनी घरमा रातभर राखेर बिहान स्वर्गद्वारी घाटमा लगेर अन्त्येष्टि गरिएको हो ।
भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत प्रकृतिको त्यहाँ मृत्यु भएको थियो । लम्साललाई उहाँका हजुरबुवा ७६ वर्षीय देवनाथ लम्सालले दागबत्ती दिएका छन् ।
प्रकृतिको अन्त्येष्टिमा सयौँ स्थानीय सहभागी भएका थिए । सुरक्षा अधिकारीहरू, उद्योगी–व्यवसायी, स्थानीय तहका जनप्रतिनिधिहरूको सहभागिता थियो । प्रकृतिको शव घरमा ल्याउँदा आफन्त र त्यहाँ उपस्थित स्थानीय भावबिह्वल भएका थिए ।
पारिवारिक स्रोतका अनुसार प्रकृतिको शव बुधवार ओडिसाबाट गोरखपुरसम्म हवाईजहाजमा र गोरखपुरबाट घरसम्म गाडीमा ल्याइएको थियो ।
ओडिसाको राजधानी भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयको कलेजमा बी–टेक अध्ययन गरिरहेकी प्रकृति गत आइतबार होस्टेलको कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिईन् ।
सोही कलेजमा अध्ययनरत भारतकै विद्यार्थी अडिवक श्री वास्तवले दिने गरेको मानसिक यातनामा कजेल प्रशासन मौन रहनु प्रकृतिको मृत्युको कारण भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।