कीर्तिपुर क्रिकेट मैदान निर्माण कार्यको निरीक्षण सहरी विकास मन्त्रालयबाटै

जनता संवाददाता
२०८१ चैत्र १९ गते, मंगलवार

काठमाडौँ ।कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले कीर्तिपुरमा निर्माणाधीन क्रिकेट स्टेडियमको सिंहदरबारस्थित आफ्नै कार्यकक्षबाट निरीक्षण गरेका छन् ।

उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्रालयको सिंहदरबारस्थित कार्यकक्षबाटै अब दैनिक नियमित निरीक्षण हुने छ। समयमै काम सक्न आठ घण्टाका दरले अहिले तीन सिफ्टमा काम भइरहेको छ।

उपप्रधानमन्त्री सिंहले निर्धारित समयमै सक्ने ढङ्गले काम सक्ने व्यवस्था मिलाउन र कामको गति बढाउनु पर्नेमा जोड दिएका छन् ।

सहरी विकास मन्त्रालयअन्तर्गतको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयबाट कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप प्याराफिट निर्माण र फ्लडलाइट जडान गत फागुनमा सम्झौता भई आगामी वैशाख २४ गतेभित्र सम्पन्न गर्नेगरी काम भइरहेको छ।

सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले निर्धारित समयमै निर्माण सक्ने गरी काम भइरहेको र अब नियमित रूपमा मन्त्रालयबाटै निरीक्षणको व्यवस्था मिलाइएको बताए ।

‘आजबाट मन्त्रीज्यूले मन्त्रालयबाटै कीर्तिपुरमा भइरहेको कामको निरीक्षण गर्ने छन् ,’ उनले भने, ‘निर्धारित समयमै काम सक्नका लागि उनको चासो छ।

गत चैत ७ गते उपप्रधानमन्त्री सिंहले कीर्तिपुर पुगेरै निर्माण कार्यको निरीक्षण गरेका थिए। आगामी वैशाख २४ गतेभित्रै कीर्तिपुर मैदानमा १० हजार क्षमताको प्याराफिट निर्माण सम्पन्न गर्ने गरी मन्त्रालयले काम गरिररहेको छ।

प्रकाशित मिति : २०८१ चैत्र १९ गते, मंगलवार


Scroll to Top

Janata Media