काठमाडौँ । काभा महिला भलिबल नेसन्स लिग भलिबल प्रतियोगितमा नेपालले पहिलो पटक भारतलाई पराजित गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार भएको खेलमा भारतलाई ३-२ को सेटमा पराजित गर्दै नेपालले ऐतिहासिक जित दर्ता गराएको हो । महिला भलिबल प्रतियोगितामा नेपालले पहिलो पटक भारतलाई हराएको हो। जारी प्रतियोगितामा नेपालको यो दोस्रो जित हो ।
निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट नेपालले २५-१८ ले जित्यो । खेलको दोस्रो सेट भारतले २५-१२ ले आफ्नो पक्षमा पार्यो । तेस्रो सेट भने नेपालले जित्यो। नेपालले भारतलाई २५-१७ ले पाखा लगाएको हो । तर चौथो सेट १८-२५ ले गुमाएको नेपालले अन्तिम तथा निर्णायक पाँचौ सेटमा भारतलाई १५-१३ ले पराजित गर्यो।
उक्त च्याम्पियनसिपमा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरानको सहभागिता छ। शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछन्। उक्त प्रतियोगिताअन्तर्गत भोलि दिउँसो ३ बजे हुने पहिलो खेलमा श्रीलङ्का र माल्दिभ्स भिड्नेछन् भने सवा पाँच बजे हुने दोस्रो खेलमा नेपालले इरानसँग खेल्नेछ। उक्त दुवै खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुनेछ।
जारी प्रतियोगिताको आफ्नो पहिलो खेल नेपालले श्रीलङ्कालाई ३-० को सोझो सेटमा पराजित गरेको थियो। नेपालले श्रीलङ्कामाथि २५-१९, २५-१८, र २५-१९ ले पराजित गरेको थियो।