मकवानपुरमा भीरबाट खस्यो सुमो, ९ जना घाइते

जनता संवाददाता
२०८१ चैत्र २० गते, बुधबार

हेटौडा । रौतहटको गौरबाट काठमाडौं जाँदै गरेको सुमो मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ बतासेमा दुर्घटना भएको छ।

मंगलबार दिउँसो ३:५५ बजे भीमफेदी–कुलेखानी–सिस्नेरी–काठमाडौं सडकखण्डमा ना १ ज ५४८५ नम्बरको सुमो ब्रेक फेल भएर अनियन्त्रित हुँदा करिब सय मिटर तल खोल्सामा खसेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि इलाका प्रहरी चौकी खानीखेतका प्रमुख प्रहरी सहायक निरीक्षक खगेन्द्रलाल गुभाजुको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। टोलीले तत्काल उद्धार गरी घाइतेहरूलाई उपचारका लागि काठमाडौं पठाएको छ।

सुमोमा चालकसहित १० जना सवार थिए। दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन् भने १ जनाको अवस्था मध्यम र ५ जना सामान्य घाइते छन्। सुमोका चालक प्रहरी सम्पर्कमै रहेको र दुर्घटनाग्रस्त सुमो घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८१ चैत्र २० गते, बुधबार


Scroll to Top

Janata Media