
काठमाडौं । महोत्तरी जिल्लासहित आसपास जिल्लाहरुको वायु प्रदूषित हुँदा आमनागरिकको दैनिकी असहज बन्दै गएको छ ।
वायुमण्डलमा बाक्लै देखिएको धुवाँको कारण आँखा पोल्ने समस्या सृजना भएको स्थानीयको भनाइ छ । विशेषगरि जिल्लाको औरही नगरपालिका देखि माथी बर्दिवास, गौशाला नगरपालिकाहरूमा यो समस्या देखिएको छ । आकाश र वरपर अत्यधिक धुवाँ देखिए पछि बिहानै मर्निङ्गवाकमा निक्लनेहरू पनि त्रसित बनेका छन् ।
वनमा लागेको डढेलो, कृषकहरूले खेतबारीमा सङ्कलन भएका झारपातमा लगाइने आगो, औद्योगिक धुवाँ, निर्माणबाट उड्ने धुलो लगायतले हावाको गुणस्तर बिगारेर प्रदूषण बढाइरहेको छ ।
वर्दिबासका एक स्वास्थ्य संस्था शुभ स्वस्तिष्क अस्पतालका प्रमुख दीपक कार्कीले केही दिन देखि वायु प्रदूषण अत्यधिक बढे पछि बाहिर निस्कँदा र घरमा नै बसिरहँदा पनि समस्या बनिरहेको बताए ।
कार्कीले भन्नुभयो, ‘पछिल्लो दुई तीन देखि बिहान देखि नै कोठामा बसिरहेको बेला पनि आँखा अत्यधिक पोल्ने गरेको र हेर्न गाह्रो हुने गरेको छ।’उनले अस्पतालमा यस्ता समस्या भएको बिरामीहरूको चाप बढेको बताए ।
विशेषगरी श्वासप्रश्वास र आँखामा समस्या देखिन थालेको छ । छाती तथा मुटु रोग विशेषज्ञ डा। सतीशकुमार सिंहले श्वासप्रश्वासका बिरामीका लागि अहिलेको अवस्था अत्यन्तै नराम्रो भएको बताए ।
अहिले देखिएको प्रदूषणले तत्कालीन रूपमा खोकी र श्वास फेर्ने समस्याबाहेक दीर्घकालीन रूपमा फोक्सोमा खत बस्ने तथा रोग प्रतिरोधी क्षमता कमजोर बनाउने जोखिम रहेको उहाँको भनाइ छ ।
उनले कोभिडले फोक्सोमा असर गरेका बिरामीलाई यो प्रदूषणले सामान्य अवस्थाभन्दा बढी जोखिममा हुने बताए । विशेषगरी बालबालिका, वृद्धवृद्धामा मुटु र मिर्गौलाका रोगीलाई यो प्रदूषणबाट जोगाउनुपर्नेमा चिकित्सकहरूको जोड रहेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख नवलकिशोर साहले चुरेका जङ्गलमा भएको आगलागीको कारण पनि यो समस्या बनेको हुन् सक्ने बताए ।
अहिले जताततै डढेलो लगाइएको छ, वन नै सखाप हुने गरी भएको आगलागीका कारण यो समस्या उत्पन्न भएको हुन् सक्छ,’ प्रमुख साहले भने , ‘जे जस्तो भएता पनि सावधानी अपनाउनु पर्छ ।’
स्वास्थ्यकर्मीहरुले कामबिना बाहिर ननिस्कन सुझाएका छन् । वर्षा समेत नभइरहेको अवस्थामा अहिले देखिएको वायु प्रदूषण थप भयावह हुन सक्नेतर्फ उनीहरूले सचेत गराएका छन् ।
हाल अस्पतालमा आउने बिरामीमध्ये धेरैलाई खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र कतिपयको खकारमा कालो तथा फोहर मिसिएको जस्तो देखिने गरेको स्वास्थ्य प्रमुख साहले बताए । पहिलेदेखि श्वासप्रश्वासको समस्या भएकाहरूलाई यो प्रदूषणले झन बढी प्रभावित बनाएको उनले बताए ।
अहिलेको अवस्थामा बिहानको व्यायाम र बाहिरी गतिविधि कम गर्न आवश्यक रहेको उनले सुझाव दिए । उनले भने, “बजार क्षेत्रमा ताजा हावा लिने अवस्था छैन, बाहिर निस्कँदा मास्कको प्रयोग अनिवार्य गर्नुपर्छ, तर साना धुलाका कण मास्कले पनि पूर्ण रूपमा रोक्न सक्दैन ।” श्वासप्रश्वाससम्बन्धी समस्या भएकाहरू घरमा नै बस्दा उत्तम हुने उनको भनाइ छ । खानपिनको सफाइमा पनि ध्यान दिनुपर्ने उहाँले सुझाव दिए ।
जानकी आँखा अस्पताल जनकपुरधामका निर्देशक तथा रेटिना विशेषज्ञ डा आशिष बोहराले पछिल्ला दिनमा आँखाका बिरामीको सङ्ख्या बढ्दै गएको बताए । अहिलेको वायु प्रदूषणका कारण आँखा पोल्ने, आँसु आउने, आँखा खोल्नै कठिन हुनेजस्ता समस्या लिएर बिरामी अस्पताल आउने गरेको बताए ।
अहिलेको प्रदूषणले बालबालिकामा बढी असर पारेको उनको भनाइ छ । उनले भने, “बालबालिकामा आँखा रातो हुने, चिलाउनेजस्ता समस्या आएको पाइएको छ ।” बालबालिका बाहिर खेल्न जाँदा बढी समस्या आउने गरेको भन्दै उहाँले बालबालिकालाई बाहिर खेल्न नदिनसमेत सुझाव दिए ।
आँखा पोल्यो भनेर पानीले आँखा भिजाउन नहुने उनको सुझाव छ । बाहिर हिँड्दा चस्माको प्रयोग गर्न आवश्यक रहेको उनको भनाइ छ । बिहानमा बाहिर नहिँड्न पनि उनले आग्रह गरे ।
बालरोग विशेषज्ञ डा। बसन्त साहले बालबालिकामा अहिलेको प्रदूषित वायुले असर गरेको बताउँछन् । पहिलेको तुलनामा अहिले अस्पतालमा आउने बालबालिकाको सङ्ख्या बढेको बताउँदै उनले यो अवस्थामा बालबालिकालाई बाहिर निस्कन नदिन सुझाव दिए ।
प्रदूषित वायुका कारण बालबालिकामा श्वाशप्रश्वासको समस्या बढी देखिएको उनले बताए । उनले भने, “बच्चामा रुघाको जस्तै लक्ष्यण देखिने तर छातीमा धेरै असर नगरेको भए पनि घाँटीमा र श्वास नलीमा असर गरेको छ ।” श्वासनलीको माथिल्लो भागमा असर गरेर यही बढ्दै गएर निमोनिया हुने गरेको उनले बताए ।
अहिले विद्यालयमा वार्षिक परीक्षा सकेर बिदा दिइएको छ । यो समयमा अधिकांश बालबालिका बाहिर खेल्न रुचाउने भन्दै उनले घरभित्रै राख्न र प्रदूषणबाट जोगाउन सुझाव दिए ।यसरी बिहानैदेखि वातावरण हेर्दा वायुप्रदूषणको अवस्था गम्भीर देखिन्छ।
सामुदायिक वन उपभोक्ता महासङ्घ मधेश प्रदेशका अध्यक्ष सोम प्रसाद शर्मा भन्छन्, ’शुद्ध हावामा स्वास फेर्न पाउनु हाम्रो नैसर्गिक अधिकार हो, तर दिनप्रतिदिन वायु प्रदूषण बढ्दै गइरहेको छ।
यसको प्रमुख कारणहरू मध्ये एक चुरे क्षेत्रको दोहन तथा वनजङ्गलको विनाश पनि हो। यदि हामीले चुरे बचाउन सकेनौं भने, भोलिको पुस्ताले यसको ठुलो मूल्य चुकाउनु पर्ने छ।’
जोगिन के गर्ने र ?
वातावरणविद अशोक यादवले वायु प्रदूषणबाट जोगिन बारे केहि उपायहरू बताएका छन् ।
वायु प्रदूषण नियन्त्रणको सवालमा सरकारले चाँडोभन्दा चाँडो सम्बोधन गर्नुपर्छ । धुलोका कारण आउने समस्या एकातिर छँदै छ । समग्र वायु प्रदूषणकै कारण आउने समस्या झन् जटिल बन्दै छ ।
विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार २ दशमलब ५ पिएमबाट मापन गर्दा हावामा बढीमा ४० सम्म धुलोधुवाँका कणहरू हुनुलाई स्वस्थ मानिन्छ । तर, अहिले काठमाडौँमा २ दशमलब ५ पिएम एक सय ९० सम्म पुगेको एउटा तथ्याङ्कले देखाएको छ । जसलाई हानिकारक हावा मानिन्छ।
अहिले प्रदूषणको स्थिति हानिकारक तहमा रहेकाले यसबाट जोगिन उपाय अपनाउनुपर्छ । औषधि–उपचारले शरीरमा पसेका हानिकारक तत्व निकाल्ने काम गर्छ । औषधीको सहायताले शरीरभित्र पसेका हानीकारक कण निकाल्दै जाने तर वायु मण्डलबाट कण भित्र पसिरहने हो भने त्यो उपचारको कुनै अर्थ रहँदैन ।
सकेसम्म सुरक्षित मास्क लगाएर हिँड्ने गर्नुपर्छ । सुरक्षित मास्क यसकारण भनिएको हो कि, बजारमा उपलब्ध सबै मास्कले धुलोधुवाँका साना कणहरु रोक्नै सक्दैनन् ।
बिरामी, बच्चा र वृद्धलाई प्रदूषणले बढी असर गर्छ । त्यसैले बिहान र बेलुकीपख सकेसम्म बाहिर निस्कन दिनु हुँदैन । हावा स्थिर र चिसो अवस्थामा रहने भएकाले त्यो समय धुलोधुवाँका कण जमिनभन्दा धेरै माथि पुग्न पाएका हुँदैनन् । बिहान र बेलुकाको समयमा प्रदूषणका कणहरू श्वासप्रश्वासबाट छिटो शरीरभित्र पुग्छन् ।
लामो समय खोकी लागिरहे, घाँटी खसखस भइरहे वा यस्तै अन्य समस्या देखियो भने जति सक्दो चाँडो उपचारका लागि स्वास्थ्य संस्थामा पुगिहाल्नुपर्छ । बालबालिकामा त झन् श्वासप्रश्वास प्रणाली विकास हुने क्रममा रहने भएकाले यस्तो समस्या आएमा उपचारका लागि चिकित्सकको परामर्श लिन ढिलाइ गर्नु हुँदैन ।