हेमन्त बोहरा,
सत्य सधैँ सजिलो हुँदैन। सत्यको बाटोमा हिँड्दा अनेकौँ कठिनाइ, बाधा र अवरोधहरूको सामना गर्नुपर्छ। कहिलेकाहीँ झूट र कपटले अस्थायी रूपमा जिते जस्तो देखिए पनि दीर्घकालमा सत्यको नै विजय हुन्छ। सत्यप्रति आस्था राखेर इमानदारीपूर्वक हिँड्ने व्यक्तिहरू अन्ततः सफल र सम्मानित हुन्छन्।
यसका केही उदाहरणहरु:
१. भगवान् रामले आफ्ना पिताको वचन पालनका लागि अयोध्याको राजसिंहासन त्यागेर १४ वर्ष वनवास गए । उनलाई राजा हुन अयोग्य भन्ने आरोप लगाइयो, तर उनले सत्य निष्ठा, धर्म, र कर्तव्यनिष्ठको उदाहरण प्रस्तुत गरे ।
२. भगवान् श्रीकृष्णले सधैँ धर्मको पक्षमा लड्ने निर्णय गरे, जसका लागि व्यक्तिगत जीवनमा धेरै पीडा सहनु पर्यो। उनलाई महाभारत युद्ध भड्काएको आरोप लगाइयो, तर उनले केवल धर्म र न्यायको स्थापना गरेका थिए । उनले गीता उपदेश दिएर समाजलाई धर्म, कर्म, र निस्वार्थ सेवा गर्ने मार्ग देखाए ।
३. सिद्धार्थ गौतम (भगवान् गौतम बुद्ध) राजकीय सुख सुविधा त्यागेर सत्यको खोजीमा निस्के । केहीले उनलाई समाजबाट टाढा भाग्ने भन्ने जस्ता आरोप लगाए, तर उनले जगतमा शान्ति र ज्ञान फैलाउने काम गरे । उनले अहिंसा, करुणा, र ध्यानमार्फत सभ्य समाजको आधार निर्माण गरे ।
४. महात्मा गान्धीले व्यक्तिगत सम्पत्ति, सुख, सुविधा त्यागेर भारतको स्वतन्त्रताको लागि अहिंसात्मक सङ्घर्ष गरे । कतिपयले उनलाई ब्रिटिस साम्राज्यको विरुद्ध हिंसा बढाएको आरोप लगाए, तर उनले शान्तिपूर्ण आन्दोलनको नेतृत्व गरे, सत्याग्रह र अहिंसाको नीति फैलाएर विश्वभरि नै प्रेरणाको स्रोत बने ।
५. नेल्सन मण्डेलाले रङ्गभेद विरुद्ध लड्दा २७ वर्ष जेल जीवन व्यतीत गरे । उनलाई आतङ्कवादी भनियो, तर अन्ततः उनले शान्ति र मेलमिलापको बाटो अपनाए । उनले रङ्गभेद अन्त्य गरी समानता र मानवअधिकारको लागि समाज पुनर्निर्माण गरे ।
यी व्यक्तिहरूले आफ्नो जीवन, समय, र सुविधाहरू त्यागेर समाजलाई न्याय, शान्ति, र समानताको मार्गमा डोर्याए । यी महान् व्यक्तिहरूको जीवनबाट हामीले विभिन्न महत्त्वपूर्ण शिक्षाहरू सिक्न सक्छौ, जसले हाम्रो जीवन र समाजलाई सकारात्मक रूपमा प्रभावित गर्न सक्छ ।
हामीले वर्तमान समयमा यी महान् विद्वानहरूका मार्ग निम्नानुसार अपनाउन, अनुसरण गर्न सक्छौँ ।
१. सत्य र धर्मको मार्ग अपनाउनु:
भगवान् राम, कृष्ण, बुद्ध र गान्धी जस्ता व्यक्तिहरूले देखाएझैँ सत्य र धर्मको मार्ग कठिन भए पनि अन्ततः विजयी सत्य, धर्मकै हुन्छ । हामीले हाम्रो व्यक्तिगत र सामाजिक जीवनमा सत्य निष्ठा कायम राख्नुपर्छ।
२. त्याग र परिश्रमको महत्त्व बझ्नुः
यी व्यक्तिहरूले व्यक्तिगत सुख-सुविधा त्यागेर समाजको भलाइका लागि योगदान दिए । कुनै ठुलो उद्देश्य प्राप्त गर्न बलिदान, परिश्रम, र धैर्य आवश्यक हुन्छ ।
३. गलत आरोपहरूबाट नआत्तिनु:
जब हामी राम्रो काम गर्छौँ । कतिपयले हामीलाई आलोचना गर्न वा गलत आरोप लगाउन सक्छन् । भगवान् कृष्ण, बुद्ध, र मण्डेलाजस्ता व्यक्तिहरूले देखाएझैँ साँचो उद्देश्य र निष्ठाले ती आरोपहरू गलत साबित गर्छ ।
४. अहिंसा र मेलमिलापको बाटो अपनाउनु:
भगवान् बुद्ध, गान्धी, र मण्डेलाले अहिंसा र शान्तिपूर्ण सङ्घर्षको महत्त्व देखाए । समस्याको समाधान हिंसाले होइन, वार्ता, समझदारी, र सहकार्यबाट खोज्नुपर्छ ।
५. न्याय र समताका लागि लड्नु:
भगवान् रामले आदर्श शासन प्रणाली (रामराज्य) स्थापनाको प्रयास गरे, मण्डेलाले रङ्गभेद विरुद्ध लडे । समाजमा अन्याय देख्दा मौन नबस्ने, समानता र न्यायको लागि आवाज उठाउने साहस राख्नुपर्छ ।
६. समाजको भलाइका लागि योगदान दिनु:
यी व्यक्तिहरू स्वार्थी नभई समाजको भलाइका लागि समर्पित थिए । हामीले पनि हाम्रो क्षेत्रमा इमानदार भएर काम गर्नुपर्छ, जसले समाजलाई सकारात्मक दिशा दिन्छ ।
७. आत्मज्ञान र मानसिक शान्ति खोज्नु:
भगवान् बुद्धले आत्मज्ञानलाई जीवनको सर्वोत्तम मार्ग देखाए । हामीले बाह्य सफलताभन्दा आन्तरिक शान्ति, सन्तुष्टि, र आत्मज्ञानतर्फ ध्यान दिनुपर्छ ।
यी दृष्टान्तहरू हाम्रो व्यक्तिगत जीवनमा लागू गर्न सकेमा हामी पनि सकारात्मक सोच राख्ने, समाज सुधार्ने, र इतिहासका यी महान् व्यक्तिहरूबाट प्रेरणा लिएर अघि बढ्न सक्नेछौँ ।
हेमन्त बोहरा काठमाडौं स्कुल अफ लमा बिएएलएलबी अन्तर्गत दोस्रो वर्षमा अध्ययनरत छन् ।







