
हुम्ला । बिहीबार बिहानको वर्षासँगैको बाढीमा परेर हुम्लाको अदानचुलीमा मात्र ४१ घर तथा पसलमा क्षति गरेको छ ।
बढीले वडा नम्बर २ का अमृते बुढाको पसल बगाएको छ भने अन्य पसलहरूमा भल पसेको गल्फागाड प्रहरी चौकी इन्चार्ज प्रहरी नायब निरीक्षक सुरेश सुनारले बताए । बाढी घरमा पसेपछि अधिकांश घर तथा पसलहरूमा क्षति भएको हो । गल्फागाड प्रहरी चौकीका प्रहरी नायव निरीक्षक सुनारका अनुसार बिहीबार बिहान ६ बजे तिर अचानक आएको अविरल वर्षासँगको बाढीले वडा नम्बर ३ का आइते बुढाको बाख्राको गोठ पुर्दा २७ वटा बाख्रा मुत अवस्थामा भेटिएका छन् । गोठमा भएका २९ वटा बाख्रालाई भने स्थानीय र प्रहरीको सहयोगमा जीवितै उद्धार गरेको छ ।
करिब आधा घण्टा मात्रै आएको वर्षासँगैको बाढीले वडा नम्बर १, २ र ३ नम्बरका वडा कार्यालयमा धेरै क्षेती पुर्याएको छ । वडा नम्बर १ का दलबहादुर थापाको पसल, नरीलाल लुवार, चक्र फडेरा, जान थापालगायतका स्थानीयको भित्र्याउने भएको गहुँ बालीसहितको खेतीयोग्य जग्गा र आसपासका जग्गाहरू बगाएको स्थानीय दल थापाले बताए ।
यता वडा नम्बर २ को गाउँ क्षेत्रका सम्पूर्ण घरहरूमा भल पसेपछि घर भित्रमा बस्न समेत समस्या भएको छ भने बजार क्षेत्रका सम्पूर्ण अस्थायी टहराहरूमा समेत क्षति पुगेको छ । माथिबाट आएको भल गाउँपालिकाको केन्द्र श्रीनगर बजार क्षेत्रमा पस्दा टहरामा भएका अधिकांश पसलहरूमा ठुलो क्षति भएको छ । भल पसेपछि स्थानीय नवराज महतारा, नेत्र महतारा, प्रमोद बोगटी, नन्द बोगटी, वसन्त बोगटी, विशाल भण्डारीका पसल, खाद्य तथा व्यापार कम्पनी लि।को खाद्यान्न भण्डारण गरेको डिपो कार्यालय श्रीनगर, अनिता बुमी, धन रोकाया, बुद्धि महतारा, धन विष्ट, माउन्ट एभरेस्ट बोर्डिङ स्कुल लगायत आसपासका सम्पूर्ण पसलहरूमा पनि क्षेती पुर्याएको छ ।
बाढीले गरेको क्षतिको गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकाया सुधार नेतृत्वको पालिकाको टोलीले स्थलगत अनुगमन गरेको छ । बाढीले ठुलो क्षति गाउँपालिकाको १, २ र ३ मा बढी गरे पनि ६ वटै वडामा यसको असर परेको पालिकाका उपाध्यक्ष रोकायाले जानकारी दिए । स्थानीय गल्फागाड प्रहरी चौकीसँगको अनुगमन पश्चात् बाढीले गरेको क्षतिको यकिन विवरण तयार भैनसकेको भए पनि एक गाउँदेखि अर्को गाउँ जोड्ने बाटा, पानीका मुहान, गल्फागाड खोलाको आसपासका सिँचाई कुलाका मुहानहरूमा ठुलो क्षति पुर्याएको अदानचुली गाउँपालिकाले जनाएको छ ।
वर्षाले पुगाएको क्षेतीको अनुगमन गरिएको भन्दा बढी विवरण आउने भएपछि आजदेखि स्थलगत मुचुल्का बाट विवरण यकिन गर्ने काम सुरु हुने गल्फागाड प्रहरी चौकी श्रीनगरले जनाएको छ ।