‘निर्णय नहुँदै घिसिङ हटाएको समाचार बाहिरियो’ -मन्त्री गुरुङ

जनता संवाददाता
२०८२ बैशाख १२ गते, शुक्रबार

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने समाचार मन्त्रीपरिषद्को निर्णय हुनुभन्दा पहिले सञ्चारमाध्यममा आएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताएका हुन् । उनले मन्त्रिपरिषद्को बैठक सकिनुभन्दा १८ मिनेट अघि कुलमानलाई पदबाट हटाएको समाचार अनलाइन माध्यममा प्रकाशित भइसकेको बताए । उनले उक्त विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि कुरा गरेको बताए । उनले मन्त्रिपरिषद्को बैठकमा मोबाइल बाहिर राखेर आउन मन्त्रीहरूलाई आग्रह गरेको समेत बताए ।

उनले मन्त्रीपरिषद्को बैठकपछि कुलमान घिसिङलाई हटाएको सम्बन्धी सञ्चारमाध्यममा गरेको गरेको कुराकानी भाइरल बनेको बताउँदै आफूले प्रश्न मात्रको व्यङ्ग्य गरेको बताए । मन्त्री गुरुङले सञ्चारमाध्यममा सूचना पु¥याउने मन्त्रीलाई आफूले चिनेको धारणा राखे । उनले भने, “क्याबिनेटको बैठक चलिरहेको छ, कुलमानलाई हटाउने निर्णय गरेको बैठक सकिनुभन्दा १८ मिनेट अघि आइसक्यो अनलाइनहरूमा । त्यहाँ मन्त्रीहरू र मुख्यसचिव बाहेक अरू कोही छैन । कसले भन्यो त त्यो ? मैले प्रधानमन्त्रीज्यूलाई प्रश्न गरें, कसले भन्यो ?”

मन्त्री गुरुङले सरकारले गरेको निर्णयहरू कुनैबेला फिर्ता लिनुपर्ने हुनाले २४ घण्टापछि मात्र मन्त्रि परिषद्का निर्णयहरू सार्वजनिक गर्ने निर्णय गरिएको स्पष्ट पारे । उनले आफू निजी विचार राख्न प्रवक्ता नभएको समेत बताए ।

प्रकाशित मिति : २०८२ बैशाख १२ गते, शुक्रबार


Scroll to Top

Janata Media