देशको आवश्यकतालाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत हुनुपर्छ

जनता संवाददाता
२०८२ बैशाख २८ गते, आईतवार

काठमाडौँ । राष्ट्रियसभाको आइतबारको बैठकमा नेपाली कांग्रेस संसदीय दलको नेता कृष्णप्रसाद सिटौलाले जनताका चाहना र मुलुकको आवश्यकतालाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनुपर्ने बताएका छन् ।

आगामी आवको नीति तथा कार्यक्रममा समावेश भएका विकास–निर्माणका कार्यक्रमका निम्ति पर्याप्त बजेट विनियोजन हुनुपर्नेमा उनले जोड दिए ।

शिक्षा विधेयक, निजामति सेवा विधेयक, प्रहरी ऐन जस्ता महत्वपूर्ण कानुन यसै अधिवेशनबाट पारित गर्ने विषय नीति तथा कार्यक्रममा समावेश हुनु सकारात्मक पक्ष भएको बताउँदै सांसद सिटौलाले शान्तिप्रक्रिया सम्बन्धी बाँकी काम चाँडै निष्कर्षमा पुर्‍ याउन सत्ता र प्रतिपक्ष मिल्नुपर्छ भने ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की (अछामी) ले मजदुर, किसान, दलित, महिला तथा पिछडिएका क्षेत्रका जनताका अपेक्षानुसार आगामी आवको बजेट प्रस्तुत हुनुपर्ने बताए ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद मदनकुमारी शाहले नीति तथा कार्यक्रममा समावेश भएका विकास–निर्माणका आयोजनालाई व्यवस्थित ढङ्गले कार्यान्वयन गरे । राष्ट्रिय सहमति कायम गरेर संविधान संशोधन गर्नुपर्नेमा उनले जोड दिए ।

नेकपा (एमाले) का सांसद सोनाम गेल्जेन शेर्पाले राष्ट्रको ढुकुटी हेरेर बजेट बनाउनुपर्नेमा जोड दिँदै विगतको तुलनामा यो वर्ष नीति तथा कार्यक्रम नयाँ ढङ्गले आएको बताए ।

प्रकाशित मिति : २०८२ बैशाख २८ गते, आईतवार


Scroll to Top

Janata Media