कालीकोटको पलाता गाउँपालिकाका तत्कालीन अध्यक्ष बमसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

जनता संवाददाता
२०८२ जेष्ठ १ गते, बिहीबार

काठमाडौँ । कालीकोटको पलाता गाउँपालिकाका तत्कालिन अध्यक्ष लक्ष्मणबहादुर बम र उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर भएको छ । पलाता गाउँपालिका– ९ र पचाल झरना गाउँपालिका बीचमा पर्ने घाटाचौर थिर्पु भन्ने ठाउँमा प्रदेश सरकारबाट कर्णाली नदीमा गाडी तार्ने फेरी निर्माणका लागि आएको बजेट काम नै नगरी अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको हो ।

बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७७/७८ मा कर्णाली प्रदेश सरकारबाट फेरी निर्माणबापत प्राप्त भएको रकम मध्ये ७५ लाख ५६ हजार नौ सय रुपैयाँ अनियमिता भएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अध्यक्ष बम र उपाध्यक्ष न्यौपानेले उपभोक्ता समितिसँग सम्झौता भई गरेको कार्यमा झुट्टा बिल भरपाई तयार गरी सार्वजनिक संस्थालाई हानी पुर्‍याउने बदनियतले निर्माण कार्य नै नगरेको, निर्धारित सर्त तथा मापदण्डविपरीत कार्य गरेको देखिएपछि विशेष अदालतमा मुद्दा दायर भएको अख्तियार प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

उनीहरूले काम नै सम्पन्न नभएको आयोजनाको भरपाई र कार्य सम्पन्न प्रतिवेदन तयार गरी कम काम भएकोमा बढी काम भएको देखाई २५ लाख रुपैयाँ गैर कानुनी रूपमा उपभोक्ता समितिलाई भुक्तानी दिएका थिए ।

प्रकाशित मिति : २०८२ जेष्ठ १ गते, बिहीबार


Scroll to Top

Janata Media