स्रोत नखुलेको २५ लाख रुपियाँसहित दुई पक्राउ

जनता संवाददाता
२०८२ जेष्ठ ७ गते, बुधबार

बनेपा । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले स्रोत नखुलेको रुपियाँसहित दुई जनालाई पक्राउ गरेको छ । मङ्गलबार प्रहरी चौकी साँगाका इन्चार्ज प्रहरी सहायक निरीक्षक भगवान अधिकारी नेतृत्वमा ट्राफिक प्रहरीसहितको प्रहरी टोलीले स्रोत नखुलेको २५ लाख रुपियाँसहित दुईजनालाई पक्राउ गरेको हो ।

प्रहरीले स्रोत नखुलेको २५ लाख रुपियाँसहित सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१ बस्ने २१ वर्षीय राजन धमाला र सप्तरी छिन्नमस्ता गाउँपालिका–६ बस्ने वर्ष ३८ वर्षीय सञ्जयकुमार साहालाई पक्राउ गरेको हो ।

मङ्गलबार साँझ साढे ६ बजेको समयमा पनौतीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख २४१६ नम्बरको यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा बसमा सवार राजन धमलाले बोकेको रातो जेब्रा झोलामा स्रोत नखुलेको २५ लाख रुपियाँ फेला पारेको थियो ।

चेकजाँचको क्रममा बरामद गरिएको रकमको स्रोत नखुलेकाले रकम बोक्ने राजन र उनका साथी सञ्जयकुमारलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धुलिखेलमा राखिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ जेष्ठ ७ गते, बुधबार