मादी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, दुईजना घाइते

जनता संवाददाता
२०८२ जेष्ठ ११ गते, आईतवार

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु भएको छ।

दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरकोे जिप आइतबार बिहान पुलको रेलिङ भत्काएर मादी नदीमा खसेको हो। दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्। घाइतेहरूको दमौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए। जिपमा पाँच जना सवार थिए।

मृत्यु हुनेमा व्यास–५ का ३५ वर्षीय प्रविन थापामगर, सोही ठाउँका २२ वर्षीय कुमार थापा र २० वर्षीय कुशल थापा रहेका प्रहरीले जनाएको छ। उनीहरुको दमौली अस्पतालमा मृत्यु भएको हो।

दुर्घटनामा जिप चालक व्यास नगरपालिका–४ बस्ने २५ वर्षीय रोहित गुप्ता र वीरगञ्ज घर भई दमौली बस्ने २० वर्षीय धीरज रौनियार घाइते भएका छन्। घाइतेमध्ये धीरजलाई थप उपचारका लागि पोखरा पठाइएको छ। दुर्घटनाका घाइतेलाई नेपाल प्रहरी र नेपाली सेनाले उद्धार गरेका थिए।

प्रकाशित मिति : २०८२ जेष्ठ ११ गते, आईतवार


Scroll to Top

Janata Media