काठमाडौँ । आज जेठ १५ गतेबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौँमा गरेको अनिश्चितकालीन आन्दोलनमा हुम्लाबाट सहभागी हुने राप्रपा कार्यकर्ताहरुलाई छाता सहयोग गरिएको छ । अनिश्चितकालीन आन्दोलनका बेला पानी परे ओढ्ने र हुम्लाको पहिचानका लागि गणेश शाहीले छाता सहयोग गरेका छन् ।
हुम्लाको चंखेली गाउँपालिका वडा नं ४ निवासी गणेश शाहीले आन्दोलनका लागि हुम्लाबाट सहभागी हुने प्रत्येक कार्यकर्तालाई छाता र बस्ने भाडाको व्यवस्था गर्ने बताएका छन् । आन्दोलनका क्रममा काठमाडौँमा अनिश्चितकालिन रुपमा लाग्ने भाडाको पनि व्यवस्था गर्ने बताएका छन् ।
‘राप्रपाको अनिश्चितकालिन आन्दोलनका लागि हुम्लाबाट साथीहर आउनु भएको रहेछ । ५१ जना काठमाडौँ पुग्नु भएको रहेछ । बाँकी अरु, बिच बाटोमै रोकिनु भएको रहेछ । उहाँहरुलाई काठमाडौँमा बस्न यसैपनि सहज छैन । कसैको घर छैन । आन्दोलन अवधिभर लाग्ने भाडा मैंले व्यवस्था गर्नेछु । चाहे जतिसुकै लागोस् । मैंले सार्वजनिक रुपमा घोषणा गरिसकेका हुनाले व्यवस्था गर्छु ।’ जनता मिडियासँग उनले भने ।
आन्दोलनमा कोही कसैको घुस पैठ नहोस् र भएपनि पहिचान गर्न सहज होस् भन्नका लागि आन्दोलनमा सहभागी हुम्लाका कार्यकर्तालाई छाता सहयोग मिलेको राप्रपा हुम्लाका अध्यक्ष विकास महतले बताए ।
शाही राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) हुम्लाका उपाध्यक्ष समेत हुन् । हाल उनी जापान बस्छन् ।







