मुम्बई इन्डियन्स आइपिएलको दोस्रो क्वालिफायरमा

जनता संवाददाता
२०८२ जेष्ठ १७ गते, शनिबार

काठमाडौँ । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग ९आइपिएल० को दोस्रो क्वालिफायरमा स्थान बनाएको छ ।

मुल्लानपुरको महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय रङ्गशालामा बुधबार राति भएको खेलमा मुम्बईले गुजरात टाइटन्सलाई २० रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान पक्का गरेको हो ।

हारसँगै गुजरातको आइपिएल यात्रा सकिएको छ । मुम्बईले अब फाइनल प्रवेशका लागि पञ्जाब किंग्ससँग प्रतिस्पर्धा गर्नेछ ।

जितका लागि मुम्बईले दिएको दुई सय २९ रनको लक्ष्य पछ्याएको गुजरात निर्धाीरत २० ओभरमा ६ विकेटको क्षतिमा दुई सय आठ रनमा समेटिएको थियो । गुजरातका लागि साई सुदर्शनले सर्वाधिक ८० रन बनाए ।

यस्तै वासिङ्टन सुन्दरले ४८, शेर्फन रदरफोर्डले २४, कुशल मेन्डिसले २०, राहुल टेवाटियाले अविजित १६ र शहारुख खानले १३ रन जोडे ।

बलिङमा मुम्बईका ट्रेन्ट बोल्टले दुई तथा जसप्रीत बुमराह, रिचर्ड ग्लिसन, मिचेल स्यान्टनर र अश्विनी कुमारले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा दुई सय २८ रन बनाएको थियो । मुम्बईका लागि रोहित शर्माले सर्वाधिक ८१ रन बनाए ।

यस्तै जोनी बेयरिस्टोले ४७, सूर्यकुमार यादवले ३३, लितक बर्माले २५ र कप्तान हार्दिक पाण्डेयले अविजित २२ रन जोडे । बलिङमा गुजरातका प्रसिद्ध कृष्ण र साई किशोरले दुई दुई तथा मोहम्मद सिराजले एक विकेट लिए ।

प्रकाशित मिति : २०८२ जेष्ठ १७ गते, शनिबार


Scroll to Top

Janata Media