काठमाडौँ । नेपालले स्कटल्यान्डमा जारी आइसिसी विश्वकप लिग–२ मा लगातार दोस्रो जित निकालेको छ ।
डुन्डीमा बुधबार राति भएको खेलमा नेपालले नेदररल्यान्डमाथि पाँच विकेटको सानदार जित निकालेको हो । जितका लागि दुई सय २६ रनको लक्ष्य पछ्याएको नेपालले ४७।१ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।
यसअघि नेपालले सिरिजको पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डलाई एक रनले हराएको थियो । नेपालको जितका आरिफ शेखले अर्धसतकीय इनिङ्स खेले । उनले ९९ बलमा सात चौका र दुई छक्काको सहयोगमा ७८ रन बनाए । आरिफ प्लेयर अफ दि म्याच भए ।
यस्तै उपकप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ३८, कुशल भुर्तेलले २५, कप्तान रोहित पौडेलले २३, आसिफ शेखले १९ र भीम सार्कीले ११ रन र गुलसन झाले अविजित ११ रन बनाए ।
बलिङमा नेदरल्यान्ड्सका माइकल लेभिटले दुई विकेट लिए । भिभियन किङमा र पल भान मिकेरनले एक एक विकेट झारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४९.१ ओभरमा सबै विकेटको क्षतिमा दुई सय २५ रन बनाएको थियो । नेदरल्यान्ड्सका लागि नोआह क्रोयसले सर्वाधिक ४८ रन बनाए । यस्तै कप्तान स्कट एड्वार्ड्सले ४६, विक्रमजित सिंहले ३८ र रोलफ भान डर मर्वेले २१ रन बनाए ।
बलिङमा नेपालका सोमपाल कामीले तीन विकेट लिनुभयो । करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीले दुई दई विकेट झारे ।
जितसँगै १४ खेलबाट १० अङ्क बनाएको नेपाल तालिकाको सातौँ स्थानमा छ । २१ खेलबाट २६ अङ्क बनाएको नेदरल्यान्ड्स दोस्रो स्थानमा छ ।







