‘एआई’ केवल भविष्यको सपना मात्रै नभई वर्तमानको आवश्यकता हो : शेरबहादुर देउवा

जनता संवाददाता
२०८२ श्रावण १२ गते, सोमबार

ललितपुर । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कृत्रिम बौद्धिकता (एआई) केवल भविष्यको सपना मात्रै नभई वर्तमानको आवश्यकता भएको बताएका छन्।

नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागद्वारा पार्टीको केन्द्रीय कार्यालयमा आयोजित ‘नेपालको विकासका लागि कृतिम बौद्धिकता समग्र विश्लेषण’ विषयक कार्यक्रममा उनले सूचना प्रविधिले जनतालाई छिटो, सजिलो र पारदर्शी ढङ्गले सेवा दिन उल्लेखनीय भूमिका खेलिरहेको बताए।

सभापति देउवाले भने,“आजको युग विज्ञान र प्रविधिको युग हो, एआई अब केवल भविष्यको सपना होइन, यो अहिलेको आवश्यकता हो। हामीले यसको प्रयोग शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी तथा सार्वजनिक सेवा प्रवाहमा जिम्मेवार र प्रभावकारी रूपमा गर्न आवश्यक छ।”

उनले घर–घरमा इन्टरनेटको पहुँच, मोबाइल बैँकिङ, अनलाइन फाराम, डिजिटल स्वास्थ्य सेवा तथा डिजिटल शिक्षा जस्ता सबै प्रविधिमैत्री योजनाले जनताको जीवनशैली सरल, समावेशी र सम्मानजनक बनाउँदै लगेको उल्लेख गरे। “कांग्रेस नेतृत्वको सरकारको अग्रसरतामा जारी भएका दूरसञ्चारसम्बन्धी नीति, ऐन र नियमले आज नेपालका टाढाका बस्तीहरू र सबै नागरिकलाई प्रविधिको पहुँचमा ल्याएको छ। प्रविधिको क्षेत्रमा अझ धेरै काम गर्न बाँकी नै छ, एक क्लिकमै बैँकिङ सेवा, सरकारी जानकारी, कृषि परामर्श वा स्वास्थ्य सल्लाह उपलब्ध गराउने व्यवस्था यिनै उदार र अग्रगामी नीतिको परिणाम हो भन्नेमा दुईमत छैन”, सभापति देउवाले भने।

उनले कांग्रेस सधैं नवप्रवर्तन र प्रविधिमार्फत सामाजिक रूपान्तरणको पक्षमा उभिँदै आएको भन्दै पार्टीले सूचना प्रविधिमार्फत आर्थिक गतिविधि बढाउन प्रतिबद्ध रहेको बताए। पूर्वप्रधानमन्त्री देउवाले प्रविधिमा पहुँच पुर्‍याई युवा उद्यमी, अनुसन्धानकर्ता र समग्र निजी क्षेत्रको सृजनशीलता प्रवर्धन गर्ने, जनतालाई केन्द्रमा राखेर उपलब्धि–केन्द्रित प्रविधि नीति बनाउने पक्षमा पार्टी क्रियाशील रहेको पनि जानकारी गराए।

“अब सबै मिलेर प्रविधिमैत्री, नवप्रवर्तनशील र समृद्ध डिजिटल नेपाल निर्माणमा लाग्नुपर्ने बेला आएको छ। विज्ञान तथा सूचना प्रविधि क्षेत्रका विविध समस्या सम्बन्धमा कांग्रेसले गहिरोसँग नियालिरहेको छ”, उनको भनाइ थियो।

प्रकाशित मिति : २०८२ श्रावण १२ गते, सोमबार


Scroll to Top

Janata Media