
काठमाडौँ । रुससँगको वाक्युद्धपछि अमेरिकाले दुई वटा परमाणु पनडुब्बी तैनाथ गरेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका पूर्वराष्ट्रपति दिमित्री मेडभेडेवले उक्साउने खालका अभिव्यक्ति दिएको भन्दै दुई वटा परमाणु पनडुब्बी ‘सही स्थान’ मा तैनाथ गर्न आदेश दिनुभएको अमेरिकी टेलिभिजन संस्था सिएनएनले जनाएको छ ।
रुसका पूर्वराष्ट्रपति मेडभेडेवले हालै अमेरिकाविरुद्ध टिप्पणी गरेका थिए । ट्रम्पले यसअघि नै रुसलाई युक्रेनमा युद्ध रोक्न अल्टिमेटम दिँदै नमाने कडा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।
राष्ट्रपति ट्रम्पले ती पनडुब्बी कहाँ तैनाथ गरिएको हो भन्ने खुलाएका छैनन् । उनले भने, “हामीलाई धम्की दिइयो, जुन ठिक लागेन । त्यसैले सतर्क हुनु पर्यो, मैले अमेरिकाका जनताको सुरक्षाका लागि यस्तो निर्णय लिएको हुँ ।”
उता रुस सरकारले यो विषयमा कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । ट्रम्प र मेडभेडेवबिच पछिल्लो समय सामाजिक सञ्जालमा तीव्र वाक्युद्ध भइरहेको छ । ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनविरुद्धको युद्ध रोक्न यही अगस्ट ८ सम्मको समय दिएका छन्। पुटिनले भने युद्ध रोक्नेबारे कुनै सङ्केत गरेका छैनन् ।
पनडुब्बी बनाउन निकै महँगो पर्छ । एउटै परमाणु पनडुब्बी बनाउन अर्बौं डलर लाग्छ र अत्यन्त अनुभवी वैज्ञानिक र विशेषज्ञ चाहिन्छ । हाल चीन, भारत, अमेरिका, बेलायत, फ्रान्स र रुससँग मात्रै परमाणु शक्तिबाट चल्ने पनडुब्बी छन् ।