काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाका कर्मचारीले गएको असार महिनाको पारिश्रमिक पाएका छैनन् । पारिश्रमिक नपाएको झण्डै एक महिना बितेसँगै कर्मचारीहरुले विभिन्न माध्यमबाट गुनासो गर्न थालेका छन् । आर्थिक वर्ष २०८१/०८२ को अन्तिम महिनाको पारिश्रमिक नपाउँदा कर्मचारीहरु समस्यामा परेका छन् ।
नगरपालिकाभित्र झण्डै ४ सय कर्मचारी रहेकामध्ये कसैले पनि असार महिनाको पारिश्रमिक पाएका छैनन् । यसरी पारिश्रमिक नपाउँदा केहीको अवस्था सामान्य भएपनि यहि पारिश्रमिकले नै गुजारा गर्ने गरेका तल्लो तहका कर्मचारी मर्कामा परेका छन् ।
यस विषयमा नगरपालिका प्रमुख उपेन्द्र कार्कीले यो ठुलो समस्या नभएको र चाँडै पारिश्रमिक पाउने बताएका छन् । ‘यो खासै ठुलो समस्या होइन । खाता सञ्चालनमा आउने बित्तिकै भदौको पहिलो सातामा प्रत्येक कर्मचारीले आफ्नो पारिश्रमिक पाउँछन् ।’ जनता मिडियासँग उनले भने ।
नगरपालिका भित्रका अन्य दलका नेता र स्थानीयले कर्मचारीले समयमै पारिश्रमिक नपाउनु स्थानीय सरकारले गरेको गम्भीर लापरबाही गरेको आरोप लगाएका छन् ।







