संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थान

चक्र दानी
२०८० श्रावण ६ गते, शनिबार

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज इटाली प्रस्थान गरेका छन् ।

साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड इटाली गएका हुन् ।

प्रधानमन्त्री प्रचण्डसँग कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत तथा प्रधानमन्त्री सचिवालय सदस्य तथा छोरी गङ्गा दाहाल पनि भ्रमणमा छन् ।

उनले इटालीमा हुने सो सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । ‘युनाइटेड नेसन्स फुट समिट प्लस टु स्टकटेकिङ मोमेन्ट’ नामक शिखर सम्मेलनका लागि नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री दाहालले औपचारिक रुपमा आफनो धारणा राख्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री प्रचण्डले अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा सोमबार सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यसूची रहेको छ । साथै सोही विद्यालय भोजनको एजेन्डा रहेको छुट्टै सत्रलाई तथा मङ्गलबार भने खाद्य प्रणाली परिवर्तनको एजेन्डाको सत्रमा पनि अध्यक्ष राष्ट्रको हैसियतमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 

प्रकाशित मिति : २०८० श्रावण ६ गते, शनिबार


Scroll to Top

Janata Media