काठमाडौँ । प्रतिनिधिसभा बैठकमा बुधबार सत्ता साझेदार दल नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदबीच चर्काचर्की भएको छ।
राप्रपाकी सांसद रोशन कार्कीले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन एमाले र नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई खाली कागजमा हस्ताक्षर गराएको भन्दै आपत्ति जनाएपछि बैठकमा हंगामा भएको हो। सांसद कार्कीले बोल्दै गर्दा एमालेका सांसद सूर्य थापाले नियमापत्ति जनाएका थिए।
कार्कीले भनिन्, ‘हिजो दिनभरि नौटंकी देखियो। एमाले र नेपाली कांग्रेसले आफ्ना माननीयज्यूहरूलाई खाली कागजमा सही गराएको भन्ने खबर सुनियो। यो केका लागि त भन्दा उपसभामुखलाई महाभियोग लगाउने रे।’
उनले संवैधानिक परिषद्मा बहुमत नपुगेका कारण आफ्नो स्वार्थ पूरा गर्न उपसभामुखमाथि महाभियोग लगाउने षड्यन्त्र भएको आरोप लगाइन्। ‘संवैधानिक परिषद्मा बहुमत पुगेन। बहुमत पुर्याएर आफ्ना आसेपासेलाई नियुक्ति गर्नका लागि उपसभामुखमाथि महाभियोग लगाउने कुरा चल्यो,’ उनले थपिन्, ‘सहि गराउने कस्तो पार्टी रु सहि गर्ने कस्ता माननीयहरू ? धिक्कार होस् !’
कार्की बोलिरहेकै बेला सांसद सूर्य थापाले उठेर नियमापत्ति जनाए। सभामुख देवराज घिमिरेले बोल्न समय दिएपछि थापाले कार्कीको अभिव्यक्ति आरोपपूर्ण, लान्छनापूर्ण र अपमानपूर्ण भएको भन्दै संसदको रेकर्डबाट हटाउन माग गरे।
‘यो संसद्मा हरेक माननीयले आफ्ना कुरा सार्वभौम ढंगले राख्न स्वतन्त्र हुनुहुन्छ,’ थापाले भने, ‘तर यो अभिव्यक्ति आरोपपूर्ण, लान्छनापूर्ण, गालीगलौजपूर्ण र अपमानपूर्ण छ। यस्तो अभिव्यक्तिलाई चेयरबाट निषेधित गरिनुपर्छ।’ उनले सांसदहरू जनताबाट निर्वाचित सार्वभौम प्रतिनिधी भएको भन्दै ‘कस्ता कागजमा सही गर्छौं’ भन्ने कुरा आफूहरूलाई थाहा भएको बताए।
थापाको नियमापत्तिपछि सभामुख घिमिरेले ध्यानाकर्षण भएको बताए र सांसद कार्कीलाई आफ्नो बाँकी भनाइ राख्न समय दिए।
कार्कीले आफ्नो भनाइलाई निरन्तरता दिँदै एमाले र कांग्रेसले देशलाई दुईदलीय शासन पद्धतिमा लैजान खोजेको आरोप लगाइन्। उनले साना दलहरूलाई सचेत हुन आग्रह गर्दै भनिन्, ‘त्यो बाघले तपाईंहरूलाई पनि खान्छ एकदिन। अहिले नै सचेत होऔं।’
कार्कीले केही सांसदहरूले अरूले ल्याएका योजनालाई आफूले ल्याएको भन्दै जनतालाई ठग्ने नयाँ धन्दा चलाएको पनि आरोप लगाइन्। उनले आफ्नो पार्टीका महामन्त्री राजेन्द्र गुरुङको आग्रहमा ओखलढुंगा(रुम्जाटार सडक स्तरोन्नतिको कार्यक्रम आफूले योजनामा पारेको तर त्यहाँका सांसदले ‘मैले ल्याएँ’ भनेर छाती फुलाएर हिँडेको भन्दै आक्रोश पोखिन्।







