सभामुख घिमिरे भन्छन्- उपसभामुखको अमेरिका भ्रमण संसद्को जानकारीमा छैन

जनता संवाददाता
२०८२ भाद्र ५ गते, बिहीबार

काठमाडौँ । सङ्घीय संसद्का उपसभामुख इन्दिरा रानाले आफू अमेरिका भ्रमणमा गएको बारे संसद्लाई जानकारी नदिएको सभामुख देवराज घिमिरेले बताएका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा सत्तारूढ दल नेपाली कांग्रेसकी रमा कोइरालाले उपसभामुख रानाको अमेरिका भ्रमणको औचित्य र विषयबारे प्रश्न उठाए । कोइरालाले उपसभामुख संसद्को प्रतिनिधित्व गरेर अमेरिका गएको वा गैरसरकारी संस्थाको प्रतिनिधित्व गरेर गएको भन्ने प्रश्न उठाए । कांग्रेस प्रतिनिधिहरूले बुधबारको कार्यव्यवस्था तथा परामर्श समितिमा पनि भ्रमणका विषयमा सभामुखसँग जिज्ञासा राखेका थिए ।

कांग्रेस सांसद रामहरि खतिवडाले कार्यव्यवस्थामा राख्नुभएको उक्त जिज्ञासामा सभामुख देवराज घिमिरेले संसद्को प्रतिनिधित्वका रूपमा उपसभामुख नगएको र अन्य विषयमा जानकारी नभएको बताएका थिए । राना साउन ३० मा अमेरिका गएकी थिईन् ।

बैठकमा उपसभामुख इन्दिरा रानालाई पद अनुकूलको आचरण नगरेको भन्ने प्रस्ताव दर्ताका लागि नेपाली कांग्रेस र नेकपा (एमाले) ले हस्ताक्षर सङ्कलन गरेको विषयमा प्रतिपक्ष दलहरूले भने आपत्ति जनाए । राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी तथा नेकपा (एकीकृत समाजवादी) ले आपत्ति जनाएका हुन् । प्रतिनिधि सभाको प्रारम्भमा नै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सत्तारूढ दुई दलले व्यवस्थामाथि नै अपमान गरेको टिप्पणी गरे ।

परियारले लोकतन्त्रको विरासत धानेका भन्ने दलहरूबाट उपसभामुखमाथि गरेको व्यवहार निन्दनीय रहेको बताए । उनले दुई ठुला दलको कदम लोकतन्त्रका लागि खतरा भएको समेत टिप्पणी गरे । यस्तो प्रवृत्तिबारे सचेत रहन अन्य दलहरूलाई उनले आग्रह गरे ।

राप्रपा सांसद रोशन कार्कीले संवैधानिक परिषद्को नियुक्ति सहज पार्न सत्तापक्षले उपसभामुख हटाउने प्रपञ्च गरेको टिप्पणी गरिन् । कार्कीले निकटलाई नियुक्ति दिन परिषद्को निर्णय सहज बनाउनेतर्फ उपसभामुख हटाउने कदम केन्द्रित रहेको पनि आरोप लगाईन् । यस्तै एकीकृत समाजवादीका शेरबहादुर कुँवरले पनि उपसभामुख हटाउनेबारे सत्तापक्षबाट भएको कदमको विरोध गरे ।

प्रकाशित मिति : २०८२ भाद्र ५ गते, बिहीबार


Scroll to Top

Janata Media