स्टुडेन्ट एफसीको सहज जित

जनता संवाददाता
२०८२ भाद्र ६ गते, शुक्रबार

काठमाडौँ । स्टुडेन्ट एफसीले एन्फा महिला लिग छनोटमा एफसी रियलेमाथि सहज जित निकालेको छ ।

सातदोवाटोस्थित एन्फा मैदानमा शुक्रबार भएको खेलमा स्टुडेन्ट एफसीले एफसी रियलेलाई ३–१ गोलले हरायो ।

स्टुडेन्ट एफसीको जितमा सुशीला सुश्लिङ्ग, पूर्णिमा थारु र सविना तामाङले गोल गरे । रियलेकी पूजा थेबेले सान्त्वना गोल फर्काए ।

समूह ‘ए’ मा दोस्रो जितसँगै स्टुडेन्ट एफसीले ६ अङ्क बनाएको छ । लगातार तेस्रो हार खेपेको रियलेले अङ्कको खाता खोल्न सकेको छैन ।

छनोट खेलमा १४ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीबाट उत्कृष्ट पाँच टोली एन्फा महिला लिगमा छनोट हुने छन् ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहमा शीर्ष दुई टोली एन्फा लिगमा सोझै सहभागी हुने छन् । तेस्रो स्थानमा रहने दुई टोलीबिचको प्लेअफ खेलमार्फत पाँचौँ टोलीको टुङ्गो लाग्ने छ ।

प्रकाशित मिति : २०८२ भाद्र ६ गते, शुक्रबार


Scroll to Top

Janata Media