श्रीमतीको शव भान्सामा गाडिएको अवस्थामा भेटियो, श्रीमान् पक्राउ

जनता संवाददाता
२०८२ भाद्र १७ गते, मंगलवार

काठमाडौँ । अर्घाखाँचीमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरी शव घरको भान्साकोठामा खाडल खनेर गाडेको घटना सार्वजनिक भएको छ। श्रीमतीको हत्यामा संलग्न श्रीमान्लाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख चक्रबहादुर मल्लका अनुसार प्युठान घर भई हाल अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४, पाटालेपोखरामा बस्दै आएका ३६ वर्षीय किरण गुरुङले आफ्नी २६ वर्षीया श्रीमती सुमित्रा कुमाल गुरुङको हत्या गरेका हुन्।

भदौ १४ गतेदेखि सुमित्रा सम्पर्कविहीन भएपछि उनका माइती पक्षले खोजतलास सुरु गरेका थिए । छोरी फेला नपरेपछि सुमित्राका बुबाले आइतबार जिल्ला प्रहरी कार्यालयमा छोरी हराएको भन्दै निवेदन दिएका थिए।

निवेदनका आधारमा अनुसन्धान थालेको प्रहरीले श्रीमान् किरण गुरुङमाथि सोधपुछ गर्दा उनले हत्याको रहस्य खोलेका थिए। प्रहरीका अनुसार किरणले भदौ १२ गते राति करिब ११ बजेतिर पारिवारिक विवादका क्रममा बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेको र त्यसपछि घरकै भान्साकोठामा खाडल खनी शव गाडेको स्वीकार गरेका छन्।

अभियुक्तको बयानका आधारमा प्रहरी टोलीले उनको घरको भान्साकोठामा उत्खनन गर्दा सुमित्राको शव फेला पारेको थियो। प्रहरीले शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल, अर्घाखाँची पठाएको छ।

प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग भएको बञ्चरो, हँसिया, गैंती, बेल्चा लगायतका सामग्रीहरू बरामद गरेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार किरण र सुमित्राबीच १० वर्षअघि प्रेम विवाह भएको र उनीहरूबाट ९ वर्षकी एक छोरी छन्। घटना भएको दिन अभियुक्त किरणले मादक पदार्थ सेवन गरेको पनि खुलेको छ।

प्रहरीले अभियुक्त किरणलाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : २०८२ भाद्र १७ गते, मंगलवार


Scroll to Top

Janata Media