काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेमाथि सहकारीको एक अर्बभन्दा बढी रकम अपचलन गरेको आरोप लगाएका छन्।
उनले यस्ता व्यक्तिलाई अहिले कारबाही नगरे भविष्यमा थप वित्तीय अपराध बढ्ने चेतावनी दिए।
राजधानीको संवाद डबलीमा आयोजित एक कार्यक्रममा बोल्दै बिडारीले आक्रामक शैलीमा भने, ‘एक अर्ब ५४ करोड रुपैयाँ सहकारीको पैसा रविलले लगेछ। अनि त्यस्तै हाम्रो नेता भनेर समर्थन गर्ने ?’
उनले सहकारीमा सर्वसाधारणले दुःख गरेर जम्मा गरेको रकम दुरुपयोग हुँदा पनि लामिछानेका समर्थकहरूले अन्धो समर्थन गरेको भन्दै आक्रोश व्यक्त गरे।
नेता बिडारीले लामिछानेले अहिले पाँचवटा सहकारीमा समस्या सिर्जना गरेको र यसमा कारबाही नभए भविष्यमा यस्ता घटना दोहोरिने दाबी गरे। ‘अहिले ५ वटा सहकारी ठगेको छ, पछि २० वटा ठग्छ,’ उनले भने।
उनले सहकारी पीडितको रकम फिर्ता गराउन लामिछानेको सम्पत्ति बिक्री गर्नुपर्ने मागसमेत गरे। ‘त्यो पैसा फिर्ता ले, घर बेच, श्रीमतीले चढेको गाडी बेच र पैसा तुरुन्त ले भन्नुपर्थ्यो,’ उनले सुनाए।







