काठमाडौँ । एका बिहानै उठ्नेवित्तिकै मोबाइलमा सामाजिक प्लेटफर्ममा रमाइरहने, राति सुत्नुअघि पनि सामाजिक सञ्जाल स्क्रोल गर्ने बानी सामान्य भइसकेको थियो । यस प्रवृत्तिले महिला, बालकबालिका, परिवार र समाजमा नकारात्मक असर पार्दै गएको अभिभावकहरुले बेलाबखतमा आवाज उठाउँदै आएका थिए ।
खासगरी बालबालिका पढाइभन्दा बढी टिकटक, फेसबुक वा भिडियो गेममा रमाउन थालेका थिए भने महिलाहरु घरायसी काम सकेपछि छिमेकीसँग भेटघाट गर्नुभन्दा मोबाइलमै समय बिताउन रुचाउने अवस्था देखिन्थ्यो । यसरी सामाजिकीकरण भन्दा मोबाइलकरणले स्थान लिन थालेपछि अभिभावकहरु गहिरो चिन्तामा परेका थिए । पछिल्लो दुई दिनदेखि बन्द रहेको यस्ता सामाजिक सञ्जालका कारण अभिभावकहरु खुसी व्यक्त गर्छन् । उचित प्रयोगभन्दा गलत प्रयोगले रचनात्मक कार्य गर्ने समय व्यतित भइरहेको अवस्थामा सामाजिक सञ्जालका यी प्लेटफर्महरु बन्द गरेकोमा अभिभावकहरु सरकारलाई धेरै धन्यवाद पनि दिन्छन् ।
यता सामाजिक प्लेटफर्मको प्रयोग गरेर विदेसमा रहेका श्रीमानसँग नियमित कुराकानी गर्न साह्रै अप्ठ्यारो भएको सरस्वतीदेवी खंगले दुःखेसो पोखिन् । उनले भनिन्, ‘‘हमर घरवाला कतार मे छै, सब दिन फेसबुकसे बात करै छलिए । दुई दिन से बात नइ भेल ।’’ अर्थात् फेसबुक मेसेन्जर बन्द भएको कारण पछिल्लो दुई दिनदेखि सरस्वतीले वैदेशिक रोजगारका लागि कतारमा रहेका श्रीमानसँग कुराकानी गर्न सक्नु भएको छैन । सरस्वती जस्तै उचित प्रयोगकर्ताहरुको यस्तो साझा समस्या नै हो ।
नेपाल सरकारले दर्ता नगरेका र कर नतिरेका एप्सलाई सञ्चालनमा रोक लगाउँदै अबदेखि अनिवार्य रूपमा दर्ता र कर बुझाएर मात्रै प्रयोग गर्न पाउने व्यवस्था लागू गरेको कारण यस्तो अवस्था आएको हो । नेपाल सरकारले बिहीबारदेखि विभिन्न २६ वटा सामाजिक सञ्जाल तथा एप्समाथि अस्थायी रोक (निस्क्रिय) लगाएको छ । यसले राजस्व सङ्कलन, सामाजिक संस्कार, पारिवारिक सम्बन्ध र बालबालिकाको शैक्षिक भविष्यलाई पनि सुरक्षित गर्ने अनुमान गरिएको छ ।
जनकपुरधामका अभिभावक सञ्जय साह भन्छन्, “हिजोअस्ति छोराछोरी किताबभन्दा बढी मोबाइलको पर्दामा हराइरहेका थिए । अब तिनीहरुलाई पढाइमा फर्काउने अवसर मिल्नेछ भन्ने विश्वास पलाएको छ ।”
स्थानीय व्यसायी बिरेन्द्र पण्डित भन्छन्, “मोबाइलले परिवारभित्र दूरी बढाएको थियो । एउटै कोठामा बस्दा पनि सबैजना मोबाइलमै व्यस्त हुने अवस्था थियो । सरकारले फेसबुक बन्द गरेकोमा परिवारमा परिवारिकण ल्याउने आशा पलाएको छ ।”
मनोविज्ञानका शिक्षक हरिप्रसाद यादव भन्छन्, “सामाजिक सञ्जाल आफैंमा नराम्रो होइन, तर यसको अनियन्त्रित प्रयोगले पारिवारिक मूल्य र सामाजिक सम्बन्ध कमजोर बनाएको छ । सरकारले लिएको निर्णय अस्थायी भए पनि यसले मानिसलाई आत्ममूल्याङ्कन गर्न बाध्य बनाउनेछ ।”
महिलाहरुमा पनि सामाजिक सञ्जालको प्रयोगले असर पारेको भन्दै शिक्षिका गीता सुवेदीले समय बिताउने नाममा मोबाइलमै गुम्सिएर बस्ने प्रवृत्तिले घरभित्रको आत्मीयता र संवाद घटाएको अनुभूति सुनाए । अहिलेको अवस्था निरन्तर रह्यो भने महिलालाई सामाजिक गतिविधि, भेटघाट र वास्तविक जीवनका कुरामा फर्काउन सकिने उनको विश्वास छ ।
सामाजिक सञ्जालका प्लेटफर्महरुलाई बन्द गर्नुभन्दा पनि कानुनअनुसार व्यववस्थित गरेर उचित प्रयोगलाई बढावा दिन जरुरी रहेको छ ।







