सुर्खेत । जिल्लाको भेरीगङ्गा नगरपालिकास्थित सुर्खेत भेरीगङ्गा रामघाट विमानस्थलको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन सार्वजनिक गरिएको छ । कर्णाली प्रदेश राजधानी सुर्खेतको वैकल्पिक विमानस्थलका रूपमा निर्माण गर्न लागिएको यस विमानस्थलको इआइए प्रतिवेदन सार्वजनिक सुनुवाइ कार्यक्रममा सार्वजनिक गरिएको हो ।
प्रतिवेदन अनुसार भेरीगङ्गा नगरपालिका–९, १० र ११ मा पर्ने गरी २१८.६ हेक्टर क्षेत्रफलमा विमानस्थल निर्माण गरिने छ । यसमा १३१.४६ हेक्टर सामुदायिक वन र ८६.८० हेक्टर राष्ट्रिय वन क्षेत्र पर्छ । विमानस्थलमा धावनमार्ग दुई हजार ७९० मिटर लम्बाइ र ४५ मिटर चौडाइको हुने छ । ए–३२० र बी–७३७ जस्ता १५० सिटसम्मका जहाज सहजै अवतरण र उडान गर्न सक्ने गरी विमानस्थल डिजाइन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियरिङ निर्देशक हरिप्रसाद अधिकारीले बताए ।
पूर्वपश्चिम धावनमार्गसहित अन्तर्राष्ट्रिय मापदण्ड अनुसार विमानस्थल निर्माण हुने उल्लेख छ । यससँगै ट्याक्सीवे, ह्याङ्र, कन्ट्रोल टावर, इन्धन भण्डारण, कार्गो भवन, प्रहरी चौकी, पार्किङ स्थल र सुरक्षा चौकीलगायतका संरचना पनि बन्ने छन् । एप्रोनमा एकै पटक १७ विमान अट्ने क्षमता रहने छ भने २४ हजार ३७५ वर्गमिटरमा टर्मिनल भवन निर्माण गरिने छ । विमानस्थल सञ्चालनमा आएपछि दैनिक ११ उडान हुने र करिब ३७४ यात्रुलाई ओसारपसार गर्न सकिने अनुमान छ ।
विमानस्थल निर्माणका लागि करिब ४४ हजार ६०५ रुख काट्नुपर्ने छ र यसले वन्यजन्तुको वासस्थानमा असर गर्ने सरोकारवालाको चिन्ता छ । स्थानीय पाइप लाइन र सिँचाइ कुलो प्रभावित हुनुका साथै धुलो र ध्वनि प्रदूषण बढाउने तथा फोहोर व्यवस्थापन जस्ता चुनौती बन्ने प्रतिवेदनमा उल्लेख छ ।
विशेष गरी मदानीचौर क्षेत्रमा राति ध्वनि प्रदूषण सामान्यभन्दा बढी हुने अनुमान गरिएको छ । त्यस्तै एक हजार दुई सय मिटर पाइप लाइन र एक हजार १६७ मिटर सिँचाइ कुलो प्रभावित हुने देखाइएको छ । प्रभावित क्षेत्रमा १५ प्रजातिका स्तनधारी, ६२ प्रजातिका चराचुरुङ्गी, १२ प्रजातिका सरिसृप र चार प्रजातिका उभयचर पाइन्छन् । यीमध्ये १५ प्रजाति सिआइटिई सूचीमा र तीन प्रजाति आइयुसी रातो सूचीमा परेका छन् ।







